अध्यादेश फिर्ता गरी विधेयकका रूपमा पेश गरियोस् : नेता थापा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ बैशाख ।

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक तथा संविधानको मर्म विपरित भएको बताएका छन् ।

विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्म विपरित भएको उनले बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।

कांग्रेस बैठकद्वारा विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतबाट फेल गराउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय समेत गरेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको बताए ।

महतले भने, ‘हाम्रो पहिलो लक्ष्य विश्वासको मत लिने लक्ष्यलाई असफल बनाउने हो । त्यसपछि वैकल्पिक सरकार गठन गर्न अघि बढ्छौं । विश्वासको मत लिनबाट प्रधानमन्त्रीलाई फेल गराउन सकेसम्म प्रयास गर्छौं ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]