एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ बैशाख ।

नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरूको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ । अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सिसिएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेशनमा मृत्यु हुनेका हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः ४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः ५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो । यसैगरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः ३० बजे मृत्यु भएको हो । योसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ ।