काठमाडौं उपत्यकाको निषेध आदेश थप हुँदै, अझै कडाइ गर्ने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० बैशाख ।

काठमाडौं उपत्यकाको निषेध आदेश थप कडाइ गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले निषेध आदेश थप कठाइ गर्न तयारी गरिएको जानकारी दिए।

‘निषेध आदेश थप कडाइ गर्नुपर्ने देखिएको छ। यसबारे मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रजिअहरूको बैठकले यसबारे निर्णय गर्छ,’ नेपाल समयसँग कुराकानी गर्दै प्रजिअ पराजुलीले भने।

उनले निषेध आदेशको अवधि थप गर्ने तयारी समेत अघि बढाइएको बताए। मंगलबार तीनै जिल्लाका प्रजिअहरूको बैठकले निषेध आदेश लम्ब्याउने विषयमा निर्णय लिनेछ। यसअघि जारी गरिएको निषेध आदेश बुधबार राती समाप्त हुँदैछ।

मृतकको संख्या बढेसँगै पशुपति आर्यघाटमा दाहसंस्कारमा समस्या

कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न कठिनाई भएको छ ।

काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो ।

तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ ।

सेनाले वाग्मती किनारमा नै शव व्यवस्थापन गर्न सुरु गरेको हो । शव व्यवस्थापनका लागि सेनाले वाग्मती किनारमा सम्याउने काम गरेको छ । कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि नेपाली सेनाको टोलीले गर्दै आएको छ ।