बाग्मती किनारमै जलाउन थालियो कोरोनावाट मृत्यु भएकाको शव

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० बैशाख ।

कोरोनाबाट मृत्यु भएकाको शव वाग्मती किनारमै जलाउन सुरु गरिएको छ । विद्युतीय शवदाह गृहमा मात्रै जलाउँदा समय लाग्ने भएपछि वाग्मती किनारमा चिता बनाएर शव जलाउन सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

शवदाह गृह एउटा मात्रै सञ्चालनमा रहेकाले शव जलाउन समय लाग्ने गरेको छ। हामीले स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पूरा गरेर बागमती किनारमा सोमबारदेखि शव जलाउन शुरु गरेका छौं,ु सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषवल्लभ पौडेलले भने।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले आफ्नो तर्फबाट ईमानदारिताका साथ जिम्मेवारी बहन गरेको दाबी गर्दै आएका छन् । उनले सरकारले नागरिकको उपचारबाट हातखुट्टा नउचालेको पनि दाबी गरेका छन् । हालै मन्त्रालयको आधिकारिक फेशबुक पेजमार्फत मन्त्री त्रिपाठीले भिडिओ सन्देश जारी गर्दैै नागरिकको उपचारमा सरकारले हात नझिक्ने बताएका हुन् ।

काठमाडौं उपत्यकालगायत देशैभरि शैय्या थप्नेबारे पनि मन्त्री त्रिपाठीले तयारी थालिसकेका छन् । यसअघि एक हजार बेड थपिएको र अब तीन सय ५० बेड थप्ने तयारी थालेका छन् । आजमात्रै यो विषयमा मन्त्री त्रिपाठीले डा। भगवान कोइराला, डा। लोचन कार्कीलगायतसँग छलफल गरेका थिए । सरकारले औषधोपचारको राम्रो व्यवस्था गर्नेगरि तयारी थालेको बताईएको छ । पछिल्लो समय दैनिक ७ हजार भन्दा बढि संक्रमित थपिएपछि नेपालपनि भारतको जस्तो भयावह अवस्थामा जानसक्ने खतरा औंल्याईएको छ ।