अक्सिजन अभाव हुँदा छटपटाउन थाले कोरोना बिरामी, एक जनाको मृत्‍यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० बैशाख ।

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले जानकारी दिए ।

कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताए ।

अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक लाइनमा बस्दा ढिलाइ भएको र यता बिरामीको ज्यान गएको वलीले बताए । अहिले भर्खरै ट्रकले ६५ वटा सिलिन्डर अक्सिजन ल्याएको तर यसले पनि राति ८ बजे सम्मलाई मात्रै पुग्ने वलीको भनाइ छ ।

‘अक्सिजन अभाव भएर एक जनालाई १५ मिनेट मात्रै दिने र त्यै सिलिन्डरको अक्सिजन अर्को बिरामीलाई दिने गरेर पालो मिलाएका छौँ, अक्सिजन कम हुँदा केही छटपटीमा हुनुहुन्छ, अवस्था डरलाग्दो छ’, वलीले भने । अस्पतालमा दुई दिनदेखि अस्पतालमा अक्सिजन अभाव भएको हो ।

अक्सिजन आपूर्ति र व्यवस्थापनमा सरकारले समयमै ध्यान नदिँदा आइतबार बिहान देखि अस्पतालमा स्टक सकिएको छ । बिरामी अक्सिजनको अभावमा बेडमै छटपटाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन अभाव भएपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित छन् ।

४२ बेडको सो अस्पताल दबाबका कारण एक सय बेडको संचालन गर्ने निर्णय शनिबार मात्रै गरिएको थियो । अहिले अस्पतालमा ५८ बेड छन् । अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन अस्पतालसँग नभएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए ।

‘शनिबारदेखि प्रदेश सरकार जिल्लामा निकायलाई हारगुहार गरेको भएपनि अहिलेसम्म कसैले सुनेको छैन, उनले भने, ‘अक्सिजनको अभावमा बिरामी बेडमा छटपटाइ रहेका छन् । हामीसँग अहिले अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन ।’

अस्पताललाई सय बेडमा संचालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक वलीले बताए । अक्सिजन अभाव भएपछि अब अस्पतालका बिरामीको रक्षा भगवान् भरोसा मात्रै छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]