आजदेखि लकडाउन कडा, बेलुका पसल खोल्न नपाइने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० बैशाख ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि लकडाउनलाई थप कडाइ गर्ने बताएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

कोरोना कहर : २८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । काठमाण्डौ उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ ।

यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको हो ।बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञा भए पनि जोरबिजोर लगाइएको छ ।

कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ । बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।सरकारले कोरोना सङ्क्रमणको सङ्ख्या काठमाडौं उपत्यका तथा तराईमा पाँच सय र पहाडी जिल्लामा दुई सय पुगे निषेधाज्ञाको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।