शंकर पोखरेलले हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश सांसदको आपत्ति

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ बैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको केही सांसदले आरोप लगाएका छन् । प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले आफूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको र आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको रातोपाटीलाई बताए । यस्तै अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नरहेको रातोपाटीलाई बताए ।

दुबै सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसकेका छन् । यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् भने अर्का सांसद अजय शाही नवलपरासी १ ख बाट विजयी सांसद हुन् । हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिन्छन् । उनीहरुले आफूहरु एमालेकाे सदस्य नरहेकाे दावी गर्दै आएका छन् ।

म आफूखुसी माओवादी केन्द्रमा आएकी हुँः सांसद वली

गण्डकी प्रदेश सभा सदस्य विमला वलीले आफ्नो खुसीले माओवादी केन्द्र रोजेको बताएकी छन् ।

नेकपा एमालेले सांसद वलीको अपहरण भएको आरोप लगाउँदै गर्दा उनले आफूखुसी माओवादी केन्द्र रोजेको बताएकी हुन् । उनले माओवादीका नेताहरूले आफूलाई सहयोग गरेका कारण आफू माओवादी केन्द्रमा लागेको स्पष्ट पारेकी छन् ।

‘म आउँदै गर्दा पार्टी उक थियो । श्रीमानको निधन भएपछि म एकाएक आएँ । मलाई नजिकबाट माअ‍ोवादीबाट सपोर्ट पाएको छु । कसैले मलाई आउनुपर्छ भनेको होइन मेरो इच्छाले नै पार्टी परिवर्तन गरेको हो’, उनले भनिन् ।

उनी दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएकी थिइन् । सांसद वलीले श्रीमान् एमालेबाट चुनाव लडे पनि उनको मृत्युपछि आफूलाई उम्मेदवार बनाउने बेलामा कुन पार्टी के हो भन्ने थाहा नभएको बताइन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]