जसपाका बहुमत सांसद ओली सरकारबिरुद्ध, अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ वैशाख ।

सरकार गठनका बारेमा लामो समयदेखि अनिर्णित जनता समाजवादी पार्टी(जसपा)ले ओली सरकारबिरुद्धको अविश्वास प्रस्तावका पक्षमा उभिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस र माओवादीले ल्याउने अविश्वास प्रस्तावका पक्षमा उभिने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

जसपाका ३२ सांंसद मध्ये १८ सांसद अविश्वास प्रस्तावको पक्षमा देखिएका छन् । जम्मा ३४ सांसदमध्ये हरिनारायण रौनियार भ्रष्टाचार आरोपमा निलम्बित छन् भने रेशम चौधरी जेलमा छन् ।

जसपामा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओलीकै सरकारमा जाने पक्षमा छन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने ओली सरकार प्रतिगमनकारी भएकाले जानु नहुने पक्षमा छन् । प्रधानमन्त्री ओलीले ठाकुर र महतोलाई प्रभावमा पारी जसपालाई निर्णय नै गर्न नदिने खेल खेल्दैआएका छन् । तर लुम्बिनी प्रदेश सरकार बिरुद्ध ल्याएको अविश्वास प्रस्तावका पक्षमा हस्ताक्षर गरेका ४ सांसदलाई ४ घन्टाकै बीचमा मन्त्री बनाएपछि जसपाको समीकरण उपेन्द्र–बाबुरामको पक्षमा हुन पुगेको छ ।

लुम्बिनी प्रदेशका सांसद मोहम्मद इस्तियाक राईको पहलमा मुुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा लागेका ४ सांसदलाई सर्वेन्द्रनाथ शुक्लले अध्यक्ष महन्थ ठाकुरसँग मिलेर मन्त्री बनाइदिए । शुक्लको यही खेलबाट राई चिढिन पुगे । उपेन्द्र यादवसँग टाढिएका उनी एकाएक उनको निकट हुन पुगे । राई डा.भट्टराई र यादवसँग नजिकिएसँगै जसपाको वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकको बहुमतले मन्त्री बनेका लुम्बिनीका ४ जना प्रदेश सांसदलाई कारबाही गर्ने र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले गएको फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि ओली सरकारबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्य भए पनि जसपामा ठाकुर र महतोका कारण नै कुनै निर्णय हुन सकेको थिएन ।

जसपाका नेताहरुबीच केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउने विषयमा नै विवाद हुँदैआएको थियो । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताले कोरोना महामारी र निषेधाज्ञाको कारण देखाउँदै बैठक राख्न अस्वीकार गर्दैआएका थिए । संघीय परिषद अध्यक्ष डा. भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव पक्षले बैठक बोलाउन माग गर्दैआएका थिए । मंगलबारको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष ठाकुरले तत्कालै कार्यकारिणी बैठक बोलाउन अस्वीकार गरेका थिए । ठाकुरले बैठक बोलाउन अस्वीकार गरे पनि केन्द्रीय कार्यकारिणी समिति बैठक बसेर अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा अध्यक्षद्वय भट्टराई र यादवका साथै वरिष्ठ नेता अशोककुमार राई, रमेशप्रसाद यादव, सुनीलकुमार झा, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, हिसिला यमि, रेणुकुमारी यादव, रकम चेम्जोङलगायतका केन्द्रीय कार्यकारिणी समिति सदस्यको उपस्थिति रहेको बताइएको छ । पूर्वराजपा समूहका महेन्द्र यादवले पनि उपेन्द्र यादवलाई समर्थन गरेपछि महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष अल्पमतमा परेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]