सरकारले उद्‌घाटनको तडकभडक देखाउँदा कोरोना संक्रमण बढ्यो : कांग्रेस

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ वैशाख ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूरा नभएका परियोजना उद्‌घाटन गर्ने नाममा सरकारले तडकभडक गर्दा पुनः लकडाउनको सामाना गर्नुपरेको टिप्पणी गरेको छ।

‘अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भीडभाड र तडक-भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ’, शुक्रबार पत्रकार सम्मेलनमार्फत् कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको शैलीप्रति असन्तुष्टि व्यक्त गरे।

निषेधाज्ञासँगै नागरिकहरू पुनः जिल्ला लाखौं फर्कदा व्यापक संक्रमण गाउँ पुग्ने खतरातर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराइएको छ। कोरोना नियन्त्रणका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको यथेष्ट आपूर्ति तथा अस्पताल,आईसीयू बेडको व्यवस्था गर्न माग गरिएको छ। स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधीको व्यवस्था गर्न सुझाव दिइएको छ।

जनशक्ति अभाव अस्पतालहरूमा देखिएकाले थप पदपुर्ति गर्न माग गरिएको छ। लकडाउनले आर्थिक सामाजिक मारमा परेका नागरिक तथा व्यवसायीलाई आवश्यक राहत उपलब्ध गराउन माग गरिएको छ।

कांग्रेसले सरकारलाई गराएको ध्यानाकर्षण पत्रको पूर्णपाठ :

देश कोभिड-१९ महामारीको दोस्रो चरणमा छ। अत्यन्त कम संख्यामा पीसीआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ। संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ। संक्रमितहरूको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ। बढ्दो संक्रमण सँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ।

यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ। यो सरकार न विगतका गल्तीहरूबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ।

अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भीडभाड र तडकभडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ। सरकारले काठमाडौं उपत्यका लगायतका ठाउँहरूमा १५ दिने लकडाउन लगाउने निर्णय गरे पछि कोभिड-१९ परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगेका छन्। सरकारको यस्तो निर्णयले संक्रमण कम भएका ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको छ।

कोभिड-१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ। नेपाललाइभ

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]