ब्रोइलर कुखुराको मासुको मूल्य घट्यो, कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ वैशाख ।

ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ । शुक्रबारबाट लागु हुनेगरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघले बिहीबार मात्रै जिउँदो कुखुराको मासुको मूल्य २७० रुपैयाँ प्रतिकिलो तोकेको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । ‘आजसम्म जिउँदो ब्रोइलरको कोल्ड स्टोर मूल्य २९० थियो । भोलिबाट २७० रुपैयाँ हुन्छ,’ सचिव गिरी भन्छन् ‘अब तयारी मासुको मूल्य ३८० रुपैयाँ हाराहारी कायम हुनेछ ।

जिउँदो कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घट्दा तयारी मासुको हालको मूल्यमा ३५ रुपैयाँ गिरावट आउने पनि सचिव गिरीले बताए । अहिले बजारमा ४१५ रुपैयाँ किलोमा तयारी ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ । गत वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले नै घटेर २९० रुपैयाँ आइपुगेको थियो ।