रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने तीन जना जेल चलान

हाम्रो सन्देश संवाददाता

बुटवल, १७ बैशाख ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निषेधाज्ञा उल्ल‌घन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरेको छ । हिजो विहीबार भैरहवामा निषेधाज्ञा उल्लंघन गर्दा पक्राउ परेका उनीहरुलाई एक महिना कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

हिजो विहीबारबाट रुपन्देहीमा जारी भएको भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहीले उनीहरुसँगै आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्य पाँचजनाले धरौटी तिरेकाले छुटेका छन् ।

रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारले जनही नौ हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको प्रवक्ता थापाले बताए । संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम उनीहरुलाई कारवाही गरिएको उनको भनाई थियो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]