ग्यास उपभोक्तालाई अनुरोध : ‘ खाली सिलिन्डर भरेर राख्नुस ‘

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ वैशाख ।

कोरोनाको महामारी बढ्न थालेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अनुरोध गरेको छ ।

कोरोनाका कारण आपूर्ति व्यवस्थामा असहज परिस्थिति आउनसक्ने भन्दै घरमा रहेका खाली सिलिन्डर भर्न अनुरोध गरिएको हो । ग्यासको अभाव नहोस् भनेर पहिल्यै अनुरोध गरिएको सङ्घले जनाएको छ ।

नेपालले ग्यास आयात गर्ने भारतमा कोरोनाको दोस्रो लहर फैलिएको छ । जसका कारण दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या हुनसक्ने भएकाले उपभोक्तालाई सचेत गराइएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनलाई पूर्ण क्षमतामा भण्डारण गर्न ग्यास उद्योगीलाई पत्राचार गरिसकेको छ ।

गत वर्षको बन्दाबन्दीमा बजारमा एलपी ग्यासको अभाव भएको थियो । सङ्घका अध्यक्ष गोकुल भण्डारीले भने “गत वर्ष आपूर्ति सहज हुँदा पनि सबैले एकैचोटि खाली सिलिन्डर ल्याउँदा असहज भएको थियो । घरमा चार / पाँचवटा सिलिन्डर राख्नेले एक/दुईवटा खाली नै राख्छन् अनि अभाव हुन्छ ।

अनि अभाव महसुस भएपछि बजारमा ल्याउँछन्, एकैचोटि ल्याउँदा समस्या हुने भएकाले हामीले सूचना गरेका हौँ । ” हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यासको माग रहेको छ ।

जसअनुसार दैनिक १४ सय मेट्रिक टन ग्यास बिक्री हुन्छ । उद्योगीसँग हाल १५ हजार मेट्रिक टन एलपी ग्यास भण्डारण छ । बाटोमा रहेका बुलेट र सिलिन्डरको पनि हिसाब गर्ने हो भने २० हजार मेट्रिक टन मौज्दात मान्न सकिन्छ ।

जुन नेपाललाई १५ दिनलाई पुग्ने ग्यास हो । कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको र मौज्दात बढाउन सक्नेसम्म बढाउन लागिएको अध्यक्ष भण्डारीले जानकारी दिएका छन ।