मन्त्रिपरिषदको बैठक बस्दै, रुपन्देही सहितका जिल्लामा निषेधाज्ञा बारे निर्णय गरिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ वैशाख ।

नेपाल सरकार मन्त्रीपरिषदको बैठक सोमवार बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन् । बालुवाटारमा बस्ने बैठकले कोरोना नियन्त्रण र रोकथामका बारेमा थप निर्णय गर्ने बताइएको छ। बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने छ।

साँझको मन्त्रिपरिषद् बैठकले रुपन्देही सहित ९ जिल्लामा निषेधाज्ञा सम्बन्धी निर्णय गर्ने पनि बताइएको छ। आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रुपन्देही सहित ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ। आइतबार साँझसम्म रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ४६ पुगेको छ। रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली लागु भएको छ । जिल्लाभरको शैक्षिक संस्था बन्द भइसकेका छन् ।

यस्तै काठमाण्डौ, ललीतपुर, भक्तपुर, मोरङ, पर्सा, कास्की, दाङ र बाँकेमा पनि पाँच सय सङ्क्रमित नाघेका छन्। बाँकेमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सोमबार एक साता लडकाउनको घोषणा गरिसकेको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]