बेहुला–बेहुलीसहित १२ जना बोकेको जिप दुर्घटना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ वैशाख ।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको छ।

बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।

बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू

कोरोना महामारी बढ्दै गएपछि कोरोना रोकथाम र न्युनिकरणको लागि यही वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्ने संकेत देखिएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । एक अधिकारीले भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’

सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न सुझाव दिएको थियो ।