ओलीले सुलीमा चढाए पनि एमाले छाड्दैनौँ : गोकर्ण बिस्ट

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ वैशाख ।

नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले एमाले पार्टी नछाड्ने बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको नाममा आफ्नो समूहलाई सुली मै चढाए पनि एमाले पार्टी नछाड्ने बताएका हुन् ।

शनिवार गृहजिल्ला गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै बिष्टले सत्ता– शक्तिकी अहंकारमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरि अगाडि बढेको बताए ।

ओलीले पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाही नाममा स्वेच्छाचारी व्यवहार देखाएको विष्टको आरोप छ । त्यसबाट विचलित नभई संघर्ष गर्ने र सुलीमै चढाए पनि आफूहरुले पार्टी नछाड्ने उनको भनाइ छ ।

ओलीले पार्टी एकताको पुरै झ्याल–ढोका बन्द गरेको उनले बताए । नेता बिष्टले बन्द ढोकाको बलेनी मै बसेरै भए पनि पार्टी एकताका लागि लडिरहने जिकिर गरे ।

​महाभारत कालमा सन्की शासकले रामलाई १४ वर्ष वनवास पठाएको उल्लेख गर्दै सत्यको जित हासिल गर्न रामलाई १४ वर्ष लागे झै आफूहरुलाई पनि सत्यको जित हासिल गर्न केही समय लाग्ने उनको भनाइ थियो ।

बहुमत सदस्यसहित ९ औं महाधिवेशनमा ओली प्यानलबाट निर्वाचित ३ जना उपाध्यक्ष समेत माधव नेपाल समूहमा रहेको उनले बताए ।

ओली पक्षको एउटा सानो समूहले गठन गरेको महाधिवेशन आयोजक समिती, स्थायी कमिटी, कसैलाई सुम्पिएको जिम्मेवारी र हटाइएको जिम्मेवारी मान्य नहुने उनले बताए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]