कोरोना संक्रमित बढेको बढ्यैः थप २६१८ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ वैशाख ।

नेपालमा शनिवार थप २६ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको सात हजार ५ सय २५ पीसीआर परिक्षणका क्रममा २४ सय ८६ र ११४३ वटा एन्टीजेन परिक्षणका क्रममा १३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३६८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १६ हजार ८२८ संक्रमित आइशोलेशनमा छन् । ७१ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म २३ लाख ९५ हजार ७२५ वटा पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा लकडाउन गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा कम्तिमा चार साता लकडाउन गर्न सिफारिस गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो ।

यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भने भइसकेको छैन । शनिवार दिउँसो ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]