पूर्व राजा ज्ञानेन्द्रसहित परिवारका ३ जना नर्भिक अस्पतालमा भर्ना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ बैसाख ।

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । कोरोना संक्रमणका कारण विरामी उहाँहरू आज(शनिवार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

केही दिनअघि उहाँहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ वास्तोलाले जानकारी गराउनुभयो ।

काठमाडौंमा लकडाउन गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा कम्तिमा चार साता लकडाउन गर्न सिफारिस गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो ।

यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भने भइसकेको छैन । शनिवार दिउँसो ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]