नेपाल भर्सेस नेदरल्याण्ड्स : नेपाली दर्शकबारे यस्तो भन्छन् कूपर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ बैसाख ।

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् ।

यी दुई देशबीचको खेल दिउँसो सवा १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेर फाइनमा नेपालसँगको भेट पक्का गरेको हो।

दुवै टोली उत्कृष्ट लयमा रहेका छन्। जारी सिरिजमा दुवै टोलीबीच दुई खेल भए। जसमा दुवै टोलीले समान एक–एक म्याच जितेका छन्।

पहिलो खेलमा नेदरल्याड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको नेपालले नेदरल्याड्ससँगको दोस्रो खेलमा ३ विकेटको हार व्यहोरेको थियो। नेपाल दोस्रो खेलमा व्यहोरेको हारको बदला नेदरल्याड्ससँग अब फाइनलमा लिने सोचमा छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला ! नेदरल्याण्ड्स बलियो विपक्षी हो। त्यसैले यी दुई देशबीचको फाइनल म्याच निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

समूह चरणको पहिलो खेलमा जितेको नेपालविरुद्ध दोस्रो खेलमा नेदरल्याण्ड्सले आक्रामक इनिङ खेल्दै जित हात पारेको थियो। यसले पनि नेदरल्याण्ड्सको मनोबल उच्च छ। जसले पनि फाइनलमा नेदरल्याण्ड्स बलियो हुन सक्ने अनुमान गर्न सकिन्छ।

त्रिविको पिचले ब्याटिङमा मद्दत गरिरहेको छ। यदि यही स्वभाव देखाइरह्यो भने ‘हाइस्कोरिङ’ फाइनल हुने आँकलन गरिएको छ। हेड टू हडे हेर्दा नेपाल नेदरल्याण्ड्सभन्दा बलियो देखिएको छ। पछिल्ला पाँच म्याचमा तीन खेलमा नेपाल विजयी भएको छ। एक खेल नतिजाविहीन भएको थियो।

फाइनल म्याच खेल्नुअघि नेदरल्याण्ड्सका अनुभवी ब्याट्सम्यान बेन कूपरले एक ट्वीट गरेका छन्। मैदानको बाहिर अर्को विशाल नेपाली समर्थकको भीडको अपेक्षा गरेका छन्।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘आजको फाइनलको लागि प्रतीक्षा गर्दैछौँ। अर्को अचम्मको वातावरण सिर्जना गर्न मैदानको बाहिर विशाल नेपाली भीडको आशा छ।’

यसअघि पनि उनले नेपाली समर्थकहरुको तारिफ गरेका थिए। रुखमा चडेर म्याच हेरेपछि उनले नेपाली दर्शकहरुको तारिफ गरेका थिए। सरकारले मैदानमा दर्शकबिना नै खेल खेलाउने निर्णय गरेपछि क्यानले समर्थकलाई मैदान प्रवेशमा रोक लगाएको छ।

‘मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ तर त्यसले नेपाली दर्शकलाई रोक्न सकेन । विशुद्ध समर्पण जसले देखाउँछ कि उनीहरूलाई आफ्नो क्रिकेट र आफ्नो टिम कति महत्वपूर्ण छ।’ कूपरले नेपाली क्रिकेटर पारस खड्काले पोष्ट गरेको फोटोलाई रिट्विट गर्दै लेखेका थिए।