काठमाडौं, ८ बैसाख ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामुहिक स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्षले मंगलबार नयाँ बानेश्वरको अर्याल होटलमा आयोजना गरेको आकस्मिक बैठकमा सांसद रामकुमारी झाँक्री पनि उपस्थित थिइन् ।
पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली रामकुमारी झाँक्रीको नामै सुन्न चाहँदैनन् । बालुवाटारमा भेट हुने निकटस्थहरुसँग प्रधानमन्त्री ओली रामकुमारी झाँक्रीको नाम लिएर कठोर आलोचना गर्ने गर्छन् ।
यसरी प्रधानमन्त्री ओलीको तारो बनेकी एमाले युवा नेतृ झाँक्रीसँग सोमबार अर्याल होटल अगाडि पत्रकारहरुले केही प्रश्न गरे ।
प्रस्तुत छ, झाँक्रीसँगको संक्षिप्त वार्तालाप–
तपाईंसहित एमालेका २७ जना संघीय सांसद र कर्णालीका ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधिएको छ । अब के गर्नुहुन्छ ?
आज दिउँसो १२ बजेपछि व्यक्ति–व्यक्तिलाई पत्र काटिएको छ । स्पष्टीकरण सोधिएका हामी सबै सांसदहरुको भनाइ पार्टी विभाजन केपी ओलीले नै सुरु गर्नुभयो भन्ने हो ।
उहाँले २०७६ साल माघको १५ देखि १९ सम्म भएको केन्द्रीय कमिटीको बैठकपछि नै पार्टी विभाजनको प्रक्रिया सुरु गर्नुभएको थियो । त्यो बैठक भव्यताका साथ सम्पन्न भयो । तर, लगत्तै उहाँहरुले गौशालास्थित मदन भण्डारी फाउन्डेशनको कार्यालयमा बसेर एमाले–एमाले एक हुनुपर्छ भन्ने अभियान सुरु गर्नुभयो । उहाँले माओवादी र एमालेलाई अलग गर्ने प्रक्रिया त्यहीँबाट सुरु गर्नुभएको थियो ।
त्यसपछि लकडाउनकै समयमा दल बदलसम्बन्धी अध्यादेश ल्याएर त्यसलाई सहजीकरण गर्नुभयो । त्यसपछि संवैधानिक परिषदको कार्यविधि सञ्चालनसम्बन्धी अध्यादेश ल्याउनुभयो र संवैधानिक परिषदहरुमा एकलौटी नियुक्ति गरेर त्यसको डण्डा चलाउने मनसाय त्यतिबेलै देखाउनुभएको थियो । त्यसमा केही प्रश्नहरु आएपछि उहाँ निरन्तर एक्लै हिँड्न थाल्नुभयो । विधि र पद्धतिलाई फलो गर्नुभएन । केन्द्रीय कमिटीमा सुविधाजनक बहुमत छ भन्ने नलागेका बेला कहिल्यै कमिटीलाई मान्नुभएन ।
हुँदै जाँदा, उहाँले ०७७ पुस ५ गते संसद् विघटन गर्नुभयो, जुन अधिकार संविधानतः प्रधानमन्त्रीलाई थिएन । नभएको अधिकार प्रयोग गरेर जनताको सार्वभौम थलो संसद् नै विघटन गरेपछि हामी त्यसविरुद्ध लड्यौँ । सर्वोच्चमा मुद्दा हाल्यौं र जनप्रदर्शन ग¥यौं । उहाँको कदम गलत थियो भनेर सर्वोच्चले भनिदियो ।
त्यसपछि पनि हामी एकीकृत पार्टी बनाउन चाहन्थ्यौं । यतिबेला ऋषि कट्टेलको माग दाबी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेरो हो भन्नेसम्म थियो । एमाले र माओवादीबीच एकता भएर बनेको पार्टीलाई यो नाम नदिनु भन्ने थियो । तर, मागदाबी नाममा थियो, उहाँहरुले अदालतसम्म सेटिङ गरेर मागै नभएको कुरा, दुुईवटा पार्टीको एकता बदर गरिदिनुभयो । एकता बदर गर्ने अदालतको आदेशमा राजनीतिक असहमति राख्दा–राख्दै पनि हामीले मान्यौँ ।
यसरी, फागुन २३ गतेको अदालतको फैसलाले २०७५ साल जेठ ३ गतेको अवस्थामा एमालेलाई फर्काइदियो । त्यसयता, हामी एमालेमै आफ्नो काम गर्ने भनिरहेका छौं । तर, उहाँले २८ फागुनमा विधान संशोधन, एकलौटी मनोनयन, पदाधिकारी बाँडफाँट, पदाधिकारीको खारेजी लगायत तमाम अवैधानिक निर्णय गर्नुभयो ।
पार्टी एकता बदर भइसकेको छ, हामी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सदस्यहरु हौं । निर्वाचनमा सूर्य चिन्हबाट जितेका नेकपा एमालेका सांसद् र त्यस दलका सदस्य हौं । हामीलाई निरन्तर हटाउने कोसिस उहाँले गरिरहनुभयो । तर, पनि हामी दलको बैठकमा (बालुवाटार) गयौं ।
तर, केन्द्रीय कमिटीको बैठकमा हाम्रो असहमति छ, ०७८ फागुन २८ को निर्णय खारेज नगर्दासम्म त्यो बैठकमा हामी जाँदैनांै र राजनीतिक लडाइँ लड्छौं भनेपछि त्यसैलाई कारण देखाएर अहिले स्पष्टीकरण सोध्नेलगायत यी सबै कुरा गर्नुभएको छ ।
जसले गैरसंवैधानिक र विधानविपरीतका कुरा गर्छ, विधानमा हुँदै नभएको व्यवस्थाअनुसार अधिकार आफैंमा केन्द्रित गर्छ, उसैले सोधेको स्पष्टीकरण हास्यास्पद छ । तर, हास्यास्पद भए पनि संसदीय दलको सदस्य भएको नाताले, संविधान र कानूनलाई परिपालना गर्ने नागरिकको कर्तव्य, दलको सदस्यको कर्तव्य भएकाले हामी कानूनी हिसाबले स्पष्टीकरण दिन्छौं ।
तर, पार्टीगत रुपमा हामी राजनीतिक हिसाबले प्रतिवाद गर्छौं । प्रतिवाद गर्नका लागि हामी तयार छौं । प्रतिवाद गर्दा उहाँले अर्कै पार्टी बनाएको भनिरहनुभएको छ । तर, पार्टी अलग बनाएको भए त देखिनुपयो, कानूनी हिसाबले देखिनुपर्यो । कानूनले हामीलाई चिन्नुपर्यो । हामी त एमालेको केन्द्रीय कमिटीको सदस्य हौं, अनि कसरी हामी अर्को पार्टीको भयौं त ?
कारबाहीको डण्डा चलाएर कम्युनिष्ट आन्दोलनलाई सत्यानाश गर्ने, पार्टीभित्रका सच्चा कम्युनिष्टहरुलाई कत्लेआम गरेर दक्षिणपन्थको सेवा गर्ने बाटोमा निरन्तर लाग्नुभएको छ । त्यसकारण, पार्टी अध्यक्षको कम्युनिष्ट आन्दोलनविरोधी रवैयाको राजनीतिक हिसाबले प्रतिवाद गर्छौं ।
उहाँले जनताको बहुदलीय जनवादलाई सिरानी हाल्नुभएको छ । तर, जनताको बहुदलीय जनवादलाई उहाँले सिरानी मात्रै हाल्नुभएको हो । २०४९ सालमा कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक कार्यक्रम भनेर ल्याइरहँदा त्यसका १४ वटा महत्वपूर्ण विशेषतामध्ये कम्युनिष्ट पार्टीको लोकतान्त्रीकरण, नेपाली समाजको प्रजातान्त्रीकरण भन्ने महत्वपूर्ण विषय थियो । बहुमतको सरकार, अल्पमतको विपक्ष, विधिको शासन, प्रेस स्वतन्त्रता, मानवअधिकार यी कुराहरु जबजका महत्वपूर्ण विषयहरु थिए । त्यसमध्ये अन्तरपार्टी हिसाबले विचारको स्वतन्त्रता हुनेछ, अल्पमत बहुमतको अधीनस्थ हुनेछ, बहुमतको निर्णय हुनेछ भनेर जनताको बहुदलीय जनवादले भनेको छ । तर, स्वयं उहाँले आफूलाई बहुदलीय जनवादको प्राधिकार दाबी गर्दै गर्दा त्यही सिद्धान्त र विधिलाई कहिल्यै सिद्धान्तका रुपमा विकसित गर्ने चेष्टा गर्नुभएन । त्यसको आत्मालाई कुल्चने चेस्टा गरिरहनुभएको छ । निरन्तर कुल्चनुभएको छ ।
लोकतान्त्रीकरण जबजको मूल लक्ष्य हो, त्यसैलाई उहाँले कुल्चनुभएको छ । बहुमतको अधीनस्थ अल्पमत हुन्छ, त्यसकारण हामी तपाईको अल्पमत भए पनि एमालेमा हुन्छौं भन्दा हामीलाई ढोका बन्द गरेर त्यहाँभित्र पस्न दिनुहुन्न ।
विचारको स्वतन्त्रता हुन्छ र पार्टीभित्र अन्तरपार्टी संघर्ष सञ्चालन गर्न पाइन्छ भनेर मदन भण्डारी स्वयंले भन्नुभएको छ । तर, पार्टीमा हामीलाई वैचारिक हिसाबले, राजनीतिक हिसाबले, सैद्धान्तिक हिसाबले छलफल गर्न दिनुहुन्न र धकेल्दै–धकेल्दै विधि पु¥याएर कारबाही गर्ने प्रक्रियास्वरुप उहाँहरुले स्पष्टीकरण सोध्नुभएको हो, हामीलाई धेरै राम्रोसँग थाहा छ । हामी गैरकानूनी, गैरवैधानिक पद्दति र प्रक्रियाको विरोधमा राजनीतिक र कानूनी लडाँइ लड्न तयार छौं ।
तपाईहरुले प्रतिनिधिसभामा फ्लोर क्रस गर्नुहुन्छ कि भन्ने आशंका पनि त छ नि ? जस्तो, कर्णालीमा फ्लोर क्रस भयो ।
कसैले गर्ने आशंकाका पछाडि हामी कुद्ने होइन । हामी त यो दलका सदस्य हौं । यो दलको सदस्य भएवापतको दलीय व्यवस्थाको दायित्व हामीमाथि छ । हामी त्यसकारण विधि, प्रक्रिया र पद्दतिको पक्षमै उभिन्छौं । त्यसैले हामीले त्यो दायित्वलाई बिर्सन्नौं । कर्तव्यबाट च्यूत भएर कसैले हामीमाथि कत्लेआम कारबाही गर्दा त हामी प्रतिवाद गरेर यही पार्टी बनाउँछौं भनेर बसेका छौं, हामीले अर्को बाटो रोज्ने कुरै आउँदैन ।
जहाँसम्म उहाँहरुको अविश्वास छ, गलत गर्नेहरुलाई शंकाले लखेटिरहन्छ । जो गलत छ, उसलाई आफ्ना गलत क्रियाकलापका विरुद्ध कसैले प्रश्न उठाइदेला, चुनौती देला कि भन्ने जहिले पनि डर हुन्छ । तर, हामीलाई डर छैन । यद्यपि, दलको विधान, दलको ह्वीप हामीलाई लाग्छ ।
त्यसोभए, तपाईहरु कहिलेसम्म लड्नुहुन्छ ?
टेक्ने जमिन हुँदासम्म लड्छौँ, हामीलाई लडाइए पनि धुलो टक्टक्याएर उठ्छौँ, अनि फेरि लड्छौँ । किनभने, ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने योजनाअन्तर्गत परिचालित भएर निरन्तररुपमा पार्टीविरुद्ध प्रहार गर्दै हुनुहुन्छ ।
सांसद् पद पार्टी भएर हामीले आर्जन गरेका हौं, यो कसैले टीका लगाएर दिएको होइन । यो फुली, बर्दीसँग जोडिएको विषय होइन । त्यसैले पदको मतलब नगरी हामी एमाले नै भएर पार्टीभित्रै आफ्नो अस्तित्वका लागि लडिरहन्छौं ।