आज एक सय ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ बैसाख ।

कोरोना भाइरसको दोस्रो लहरबाट बालबालिकामा संक्रमण बढी हुन थालेको छ। आज एक सय ९३ बालबालिकामा संक्रमण पुष्टि भएको छ।

केही दिनयता बालबालिका संक्रमित हुने क्रम बढेको छ। आज १९ वर्षसम्मका एक सय ९३ बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसमा ९ वर्षमुनिका ४३ बालबालिका छन्। त्यस्तै, १० देखि १९ वर्षसम्मका एक सय ५० जना छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार सात सय ३६ जनामा संक्रमण देखिएको छ। पीसीआर परीक्षणबाट एक हजार ६ सय ६७ र एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको हो।

कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

कांग्रेस आईका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । साथै उनले होम आइसोलेशनमा बसेको जानकारी दिएका छन् ।

गान्धी पछिल्लो समय केरल, पश्चिम बंगाल, असम र तमिलनाडुको चुनावी -यालीमा सहभागी थिए । दुई दिन अघि आफुमा कोरोनाको लक्षण देखिएपछि -यालीको कार्यक्रम रद्द गरेका थिए ।

केजरीवालकी श्रीमतीलाई पनि कोरोना

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनिता केजरीवाल पनि कोरोना संक्रमित भएकी छिन् । अहिले सुनिता होम आइसोलेसनमा छिन् भने केजरीवाल क्वारेन्टाइनमा छन् । भारतमा सोमबार २ लाख ५० हजार बढीमा कोरोना संक्रमण देखिएको छ ।