कोरोना भाइरसको संक्रमण हुनुभन्दा अगाडि सबै कुरा सहज लाग्थ्यो। मनमा कुनै बेला लाग्थ्यो, ‘म जस्तो मान्छे । म योग गर्छु । ध्यान गर्छु । बलियो छु। रोग प्रतिरोधात्मक क्षमता बलियो छ। यस्ता संक्रमणले केही पनि हुँदैन।’ तर त्यसको ठीक उल्टो भइदियो । उनी संक्रमित भए। आइसीयूमा राखियो। रेमडेसिभिर औषधि समेत चलाइयो।
कसरी संक्रमित हुनुको कुनै कारण उनी देख्दैनन्। संक्रमित भइसकेपछि अहिले उनको सोचाइ परिर्वतन भएको छ। कुनै पनि रोगसँग खेलाची गर्नु हुँदैन। आफूले सके जति सावधानी अपनाउनुपर्छ। उसो त उनले सावधानी नअपनाएका पनि होइनन्।
संक्रमितको संख्या दिनप्रति दिन बढिरहेकै थियो। त्यही समयमा दाइ संक्रमित भए। र, होम आइसोलेसन बसे। घरमै बसेर आयुर्वेदिक औषधिको प्रयोग गरिरहेका दाइको प्रेसर एकाएक कम भयो। उनी आफैँले दाइलाई बोकेर अस्पताल पुर्याए।
उनले यकिनका साथ भन्न नसकेपनि दाइबाट आफूलाई सरेको हुनसक्छ भन्ने लाग्छ, कुनै बेला। प्रेसर कम भएर अस्पताल पुगेका दाइ निको भएर घर फर्किए। तर हाँस्य कलाकार मनोज गजुरेल भने अस्पतालमा बस्नुपर्ने स्थिति आयो। उनीमा संक्रमण देखिएको थियो।
एकपछि अर्को गर्दै कोरोना भाइरसका लक्षण देखिएका मनोजले केही दिन अटेरी गरे। तर उनको त्यो अटेरीमाथि कोरोना भाइरसको संक्रमण हावी भयो। र, अन्ततः उनी अस्पताल पुगे। संक्रमणले उनलाई गाँजिसकेको थियो।
उनको फोक्सोमा हावा भरिएको थियो जसले गर्दा फोक्सोले राम्रोसँग काम गर्न सकिरहेको थिएन। फोक्सोको हावा निकाल्न छाती चिरियो। कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रयोग गरिर्दै आएको रेमडेसिभिर औषधि चलाइयो।
अनि अक्सिजन पनि
उनी सामान्य विरामी भए पनि यसरी अक्सिजन नै दिनु पर्ने गरी विरामी भने भएका थिएनन्। त्यो समय उनका लागि निकै पीडादायी थियो। तर त्यो पीडा उनको अनुहारमा पटक्कै देखिएको छैन। उनी देखाउन चाँहदैनन् पनि।
अस्पतालबाट घर फर्किएको २ महिना पुरा भयो। उनी हरेक कुरालाई सकारात्मक रुपमा सोच्छन्। आफ्ना कामहरु पहिला जसरी नै उत्साही भएर गरिरहेका छन्। र, केही काम गर्नका लागि तयारी गरिरहेका छन्।
उनका लागि आइसीयू
‘आइसीयू भनेको अप्ठ्यारो हुँदा अझै राम्रोसँग केयर गरिने ठाउँ हो’, उनले भने। आइसीयूमा पुग्नु आफ्ना लागि राम्रो भएको ठान्छन्, उनी। अन्य वार्डहरुमा बसेर उपचार गराउनुभन्दा आइसीयू सुरक्षित भएको उनले महसुस गरे। त्यहाँ विरामीको अझै बढी हेरचाह हुने उनी बताउँछन्।
‘यो सौभाग्य मैले पहिला पाएको थिइनँ’, बेस्सरी हाँस्दै उनले थपे, ‘जीवनमा हतियार शरीरमा नपसेको मान्छे। फोक्सोमा जमेको हावा निकाल्न हतियार पनि पस्यो।’ त्यो बेला उनलाई त्रास त भयो नै। तर उनले मनलाई दरिलो बनाए।
संक्रमित हुँदा
‘कोभिड–१९ नलागुन्जेल केही पनि होइन तर लागि सकेपछि यो सबै थोक हो’, मनोज भन्छन्। संक्रमित भइसकेपछि कोरोना भाइरसप्रतिको त्रासभन्दा पनि यसप्रति आशा भारोसा उत्प्रेरणा बाड्नु पर्छ भन्ने पक्षमा छन्, अहिले मनोज।
उनका अनुसार कोरोना भाइरस बजारमा हल्ला भए जस्तो सहज सामान्य रुघाखोकी मात्र पनि होइन र धेरै प्रचारित भएजस्तो संक्रमित हुने बित्तिकै मरिहालिन्छ भन्ने पनि होइन। सधै सजग भइरहनु पर्छ।
‘आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ। कसैलाई पनि अस्पतालमा, डाक्टरकोमा, वकिलकोमा सकेसम्म जानु नपरोस् मेरो सबैलाई कामना यही छ’, मनोजले भने, ‘अस्पताल पुगेपछि अर्को मैले महसुस गरेको के कुरा भने स्वास्थ्य सेवा अझै सर्वसाधारणको पहुँचमा पुग्नु जरुरी छ। अझै सकिन्छ भने यसलाई निःशुल्क बनाउन आवश्यक छ। राज्यको सबैभन्दा ठूलो लगानी स्वास्थ्य र शिक्षामा हुनुपर्दो रहेछ भन्ने लागेको छ।’
मनमा चलेको द्वन्द
विरामीलाई जतिसुकै गाह्रो किन नहोस्, ऊ बाँच्ने प्रयास गर्छ। उनले भने, ‘जति कमजोर बनोस्, जति ठूलो रोग किन नलागोस्। तर पनि ऊ भित्रैबाट बाँच्ने कोशिस गर्छ। ऊ भित्र जीजीबिषा हुन्छ।’ फोक्सोमा हावा भरिएको छ भन्दै डाक्टरले कोखा चिरेर निकाल्नुपर्ने मनोजलाई बताएका थिए। उनी डराए। तर उनी शल्यक्रियापछि भने ढुक्क भएका थिए।
उनले भने, ‘आफूले आफैलाई ‘मोटिभेट’ गरिँदो रहेछ। त्यस्तो बेलामा ‘सेल्फ मोटिभेसन’ भइँदो रहेछ। मलाई केही पनि हुँदैन। मनमा यति कुरा मात्र आउँछ ‘म ठीक हुन्छु, म ठीक हुन्छु, म ठीक हुन्छु, मेरो स्वास्थ्य राम्रो हुँदैछ।’
उनलाई पनि लागिरहेको थियो ‘मेरो प्राण शक्ति डाउन होइन अप हुँदैछ, अनि उनले आफ्नो वरपरका विरामीले हेर्थे। उनी आफ्ना साथीहरुलाई सम्झिन्थे, जसको ज्यान जोखिममा हुँदाहुँदै पनि रमाइरहेका छन्। यस्तै यस्तै कुराहरुले मजोजलाई थप हौसला प्रदान गर्यो।
निको भएपछि
निको भएर घर फर्किएपछि मनोजभन्दा पनि उनको परिवार खुसी भएको थियो। उनी अस्पतालमा हुँदा स्वास्थ्यमा सुधार हुँदैछ भन्ने पत्तो पाइसकेका थिए। तर बाहिर आइरहेका ‘फेक न्यूज’ले धेरैलाई चिन्तित बनाएको थियो। उनको स्वास्थ्य स्थितिलाई बढाइँ-चढाइँ लेखिएका थिए समाचारहरु। यो कुराले उनको परिवारलाई पीडा थपिएको थियो। त्यतिमात्र नभएर उनको स्वास्थ्यलाई लिएर उनका प्रशंसकहरु समेत छट्पट्टिइएका थिए।
‘तर मलाई थाहा थियो। म राम्रो अस्पतालमा उपचाररत छु। राम्रो डाक्टरको हातमा छु। बाहिर भनिए जस्तो मेरो स्वास्थ्य स्थिति गम्भीर पनि भइसकेको थिएन’, उनले भने, ‘जसले गर्दा म निको भएर घर फर्किएपछि मेरो परिवार र मेरा शुभचिन्तकहरु सबैभन्दा धेरै खुशी हुनु भयो।’
अहिलेको स्वास्थ्य
कोरोना भाइरस संक्रमण भएर निको भएका धेरैलाई देखिने गरेका लक्षण उनीमा अहिले खासै देखिएको छैन। उनले भने, ‘कुनैबेला भने आफू कमजोर भए जस्तो ‘इनर्जी लस’ भए जस्तो कहिलेकाहिँ हुने गरेको अनुभूति हुन्छ। यसलाई म संक्रमणपछि देखिने लक्षणभन्दा पनि आफैँ कमजोरी भएको जस्तो लाग्छ।’
अहिले उनी हरेक प्रकारका सावधानी अपनाउँछन्। भीडभाडमा जाँदैनन्। जोसुकैसँग भेट्दा पनि सामाजिक दूरी कामय गरेर मात्र भेटघाट गर्ने गरेका छन्। ‘सावधानी सबैले अपनाउनैपर्छ। संक्रमणपछि निको भएर घर फर्किएपछि अझ धेरै सावधानी अपनाइरहेको छु। कहिलेकाही सबै कुरा सोचेजस्तो भइदिँदैन।’
अनि कोभिड–१९ ले सिकाएको पाठ
उनले ठट्यौली पारामा भने, ‘केही नहुन्जेल केही पनि हुँदैन।’ पैसा, धन सम्पत्ति, शरीर कुनै पनि कुराको घमण्ड नगर जसलाई जतिखेर जे पनि हुन सक्छ। अहिले मैले यो कुराको महत्व मैले बुझेँ।’
संक्रमणपछि यस्तै कुराको फरक छुट्टयाउन थालेका छन्, मनोज आजभोलि। अब अझै नयाँ उर्जा थपिएको महसुस गरिरहेकाका छन् उनी। संक्रमण आफ्नो स्वभाव परिर्वतन गर्न नसकेको उनको भनाइ छ। आफ्नो कर्म अनि जिम्मेवारीलाई उसैगरी निभाउनुका साथै हाँस्ने र हसाउँने कामलाई अझै उर्जाका साथ अगाडि बढाउने उनी बताउँछन्।
उनी भन्छन्, ‘अझै परिष्कृत, अझै रमाइलो, अझै उद्देश्यमूलक काम गर्नेछु। म हास्नका लागि मात्र हसाउँने काम हिजो पनि गरेको थिइनँ र भोलिका दिनमा पनि गर्नेछैन। त्यसमा केही उद्देश्य हुन्छ। केही अर्थ हुन्छ र केही उत्प्रेरणा पनि हुन्छ।’