रुकुम पश्चिममा कोरोनाले एक महिलाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ बैसाख ।

कोरोना भाइरसको संक्रमणका कारण रुकुम पश्चिमकी एक महिलाको ज्यान गएको छ । आज सोमबार जिल्ला अस्पताल सल्लेमा मुसिकोट नगरपालिका वडा नम्वर ७ की ४० बर्षिया एक महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।

ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भएकोले गत शनिवार उनी अस्पताल भएकी थिइन् । आज बिहान अकस्मात ज्वरो बढी भई बेहोस भएपछि ज्यान गएको स्वास्थ्य सेवा कार्यालय रुकुमका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । उनी एक हप्ताअघि भारतबाट घर आएकी थिइन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकाका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन रावलले जनाए । संक्रमित हुनेहरुमा एक पुरुष र एक महिला रहेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय: बैशाख मसान्तसम्म बन्द

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने सरकारले निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना जोखिम बढेसँगै बालबालिकामा संक्रमण फैलिन सक्ने भन्दै केही समयका लागि शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन पठनपाठनको व्यवस्था मिलाउने तयारी गरिएको उनकाे भनाइ छ।