दैलेखको गाईबान्नामा बस पल्टियो : ११ जना घाइते, २ को अवस्था गम्भीर !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ बैसाख ।

गाईबान्नामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। घाइते सबैको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।

काठमाडौंबाट दैलेखका लागि छुटेको ना७ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो। अन्य यात्रुलाई गन्तव्यमा पठाइसकिएको प्रहरीले जनाएको छ।

विकराल बन्दै कोरोना संक्रमण, विश्वभर ३० लाख बढीको मृत्यु, १४ करोड बढी संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड नाघेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै विश्वभर ७ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले पछिल्लो समय कोरोना भाइरसको संक्रमण अहिलेसम्मको उच्च भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आधानमले लगातार बढिरहेको संक्रमण दर र मृत्युदरले चिन्तित बनाएको बताउनु भएको छ । भारत दोस्रो लहरको संक्रमण झेलिरहेको छ । जहाँ दैनिक संक्रमण २ लाख ६० हजार नाघेको छ ।

युरोपेली मुलुकहरु संक्रमणको तेस्रो लहर भोगिरहेका छन् । अमेरिकामा संक्रमण केही घटेको छ । अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरुमा पनि संक्रमण पछिल्लो समय बढेको छ ।