सभापति देउवाले भने : “माओबादीले समर्थन फिर्ता लिएपछि नयाँ सरकार “

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ बैसाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताए ।
तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए ।

‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं ।

बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन ।’ देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेकाले स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने उनले विश्वास व्यक्त गरे ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]