काठमाडौं, ५ बैसाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ कार्यक्रमको सुरुवात गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज मीन भवनस्थित नापी विभागको कार्यालयमा कार्यक्रम सुरू गर्नुभएको हो । उक्त व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यस वाफतको शुल्क बुझाउन मालपोत कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ ।
‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर उक्त सेवा लिन सकिने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन उक्त सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।
सूचना अधिकारी ढकालका अनुसार, आज उक्त सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुनेछ । त्यसपछि एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुने विभागले जनाएको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु, १५ जना घाइते
धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चानुवाका चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो।
करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए। टिभीको प्लक जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।
घाइते मध्ये ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीया पदमकुमारी श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला र ६ वर्षीया लाजिहाङ जिमीलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। यस्तै २० वर्षीया रमा रोक्का, ४२ वर्षीया लीलादेबी भण्डारी, ६० वर्षीया मोतीमाया जिमी, १८ वर्षीया सम्झना लिम्बु र २३ वर्षीया तारा कटुवाल पनि थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
घाइते अन्य ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। चानुवा क्षेत्रमा केही दिनदेखि विद्युत नभएको र विद्युत आउनसाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको स्थानीयले बताएका छन्।
हाइभोल्टेज विद्युत प्रवाह हुँदा धेरैका घरमा मोवाइल, टिभी जलेका छन्। त्यो ठाउँमा कसरी हाइभोल्टेज विद्युत प्रवाह भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख दिपक सापकोटोले जानकारी दिए।