भेरी अस्पतालमा ३ घण्टामा तीन संक्रमितको मृत्यु

हाम्रो सन्देश संवाददाता

बाँके, ५ बैसाख ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीका अनुसार अस्पतालमा तीन घण्टामा तीन जना संक्रमितको मृत्यु भएको हो ।

राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना संक्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे उनको मृत्यु भएको हो ।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]