फेरि बढ्यो डिजेल–पेट्रोलको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ बैसाख ।

चौतर्फी आलोचनाका बीच मासिक घाटा बढ्न थालेपछि नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।

निगमले पेट्रोल र डिजलको मूल्य प्रतिलिटर रु. १ ले बढाएको छ । योसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजल मट्टितेलको मूल्य प्रतिलिटर रु. १०४ कायम भएको छ ।

निगमले यसअघि चैत २२ गते पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसैगरी, निगमले आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ । योसँगै अब हवाई इन्धनको नयाँ मूल्य रु. ७६ कायम भएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

निगमको दाबीअनुसार शनिवार मध्यरातिदेखि लागू हुने नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थ बिक्री गर्दा पनि पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा रहेको छ ।

यस्तै, ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपैयाँ घाटा छ । यसरी हुने घाटालाई निगमले आफ्नो स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गर्दै आएको छ ।