काठमाडौं, ४ बैशाख ।
नेपाल विद्यार्थी संघले चितवनको खैरहनीमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रामपुर कृषि क्याम्पसका विद्यार्थीमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै विद्याको पवित्र मन्दिरमा भएको अपराधिक घटनाको घोर निन्द्या र भत्सर्ना गरेका छन् ।
हातहतियारसहित आएको जत्थाले क्याम्पसका ने। वि। ईकाई सभापति दिपेश बानिया सहित खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि आक्रमण गरी घाइते भएको जानकारी दिँदै अध्यक्ष ढुंगानाले आक्रमणमा संलग्न सबैलाई गिरफ्तार गर्न र हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।
आक्रमणमा संलग्नलाई पक्री कार्वाही नगरे विद्यार्थीहरु आफै कार्वाही गर्न बाध्य हुने चेतावनीसमेत ढुंगानाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘विश्वविद्यालयलाई वैचारिक राजनीति गर्ने थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुस्प्रयास कुनै पनि पक्षबाट नहोस्, डर र त्रासको वातावरण सृजना गरी राजनीतिक आधार खडा गर्ने सपना कसैले देखेको भए त्यसको गम्भिर दुष्परिणाम भोग्ने चेतावनी समेत दिन चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
फोटो स्रोत : सामाजिक सञ्जाल