भारतले यस्तो गरेपछि नेपालमाथि अरु देशले हवाई प्रतिबन्ध लगाउने खतरा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ बैशाख ।

भारतमा कोरोनाको दोस्रो लहर चलेपछि अन्य मुलुकले भारतसंग हवाई सम्पर्क विच्छेद गरेका छन् । कोरोनाको जोखिम आफ्नो मुलुकमा पनि बढ्न सक्ने भएकाले अन्य मुलुकले भारतसंग हवाई सेवा बन्द गरेका हुन् । भारतवाट अरु मुलुकले हवाई सेवा बन्द गरेपछि अन्य मुलुक जाने भारतीय श्रमिकले नेपालको विमानस्थल प्रयोग गर्न थालेका छन् । अहिले काठमाडौका होटल भारतीय नागरिकले भरिएको छ । भारतीय श्रमिकले नेपाली विमानस्थल प्रयोग गरेर रोजगारीका लागि तेस्रो मुलुक जानेहरु बढेका छन् ।

भारतीयले नेपालको विमानस्थल प्रयोग गर्न थालेपछि ती मुलुकले नेपालमाथि हवाई प्रतिबन्ध लगाउने जोखिम बढेको छ । आफ्नो देशको उडान रोकिएसँगै भारतीय नागरिकहरु नेपाल भएर तेश्रो मुलुक जान थालेका छन्। काठमाडौको होटलहरुमा क्वारेन्टिन अवधि पुरा गरेर तेस्रो मुलुक जानेहरुको संख्याले होटलहरु भरिएका छन् । यहीकारण श्रम गन्तव्य मुलुकले नेपालसँग उडानमा पनि प्रतिबन्ध लगाउने सम्भावना बढेको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन्।

पछिल्ला दुई सातामा नेपालबाट सयौँको संख्यामा भारतीय नागरिक साउदी, यूएई लगायतका देशमा पुगिसकेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जोखिम बढ्दै गए नेपालमा पनि हवाई सेवा प्रभावित हुने भएकाले सचेत हुनुपर्ने बताए । बंगलादेशले त्यसको सुरुवात गरिसकेको छ । पछिल्लो एक साताका लागि काठमाडौं आउने उडानमा प्रतिबन्ध लगाएको हो ।