काठमाडौंसहित अधिकांश जिल्लामा हावाहुरी, अजै केही दिन कायमै रहने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ बैशाख ।

काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा हावाहुरी चलेको छ । प्रदेश नम्बर एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी बढी चलेको मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीलाई जानकारी गराइन् ।

उनका अनुसार शुक्रबार र शनिबार पनि अपराह्नपछि हावाहुरी चल्ने छ । प्रि मनसुन गतिविधि सक्रिय भएकाले हावाहुरी चलेको उनले जानकारी गराइन् ।

हावाहुरीसहित काठमाडौंका विभिन्न स्थानमा बिजुली पनि अनियमित भएको छ ।

अङ्ग्रेजी महिना मार्च, अप्रिल र मे सम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातार प्रभावित भइरहने हुन्छ । आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रन अझै १३ दिन बाँकी रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्याह्नपछि मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पूर्वी तथा मध्य भूभागमा केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहने छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस रहने छ ।