सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ वैशाख ।

बर्षको पहिलो कारोबार दिन आज स्थानीय बजारमा सुनको भाउ ३०० रुपैयाँले बढेको छ । चैत्र ३१ गते मंगलबार प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सनुको भाउ प्रतितोला ८९ हजार ८०० रुपैयाँ पुगेको छ ।
सोही परिमाणको तेजावी सुनको भाउ भने आज ८९ हजार ३५० रुपैयाँ रहेको छ ।

सुनको भाउ बढेसँगै यता, चाँदीको भाउ पनि बढेको छ । यसअघि तोलामा एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेको हो ।

आईपीओ निष्कासन गर्दै १५ कम्पनी, कुनको कति ?

काठमाडौं – विभिन्न १५ वटा कम्पनीहरूले प्राथमिक शेयर (आईपीओ) केही दिन भित्र जारी गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्याङ्कअनुसार १५ वटा कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । १५ वटा कम्पनीले ५ अर्ब ५५ करोड रुपियाँबराबरको आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

आवेदन दिनेहरूमा मध्य भोटेकोशी जलविद्युत आयोजनाले १ अर्ब ५० करोड, साहस ऊर्जाले १ अर्ब ५ करोड, बिन्दाबासिनी हाइड्रोले २५ करोड, सीईबीडी हाइड्रोले २५ करोड, डिस मिडिया नेटले २३ करोड, हिमालयन हाइड्रोले २२ करोड, न्यादी हाइड्रोले ४० करोड ५ लाख, मैलुङखोला जलविद्युतले ७ करोड ३६ लाख, ग्रीन भेन्चरले ६२ करोड ५० लाख, बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख, सयपत्री हाइड्रोपावरले ९ करोड रुपियाँबराबरको आईपीओ जारी गर्दै छन् ।

त्यस्तै जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख, मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाख, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड,समलिङपावर कम्पनीले १२ करोड ३० लाख रुपियाँको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।