सुरु हुन थाल्यो कोरोनाको दोस्रो लहर, देखिन थाल्यो यस्ता लक्षण

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

कोरोनाको दोस्रो स्वरुपले मानिसहरु धेरै संक्रमण भएको समाचार आइरहेका छन् । युरोप तथा छिमेकी राष्ट्र भारतमा पनि कोरोनाले आफ्नो नयाँ घातक स्वरुप देखाइसकेको छ । सचेत रहनुपर्ने कुरा के भने कोरोनाले आफ्नो स्वरुप र लक्षण दुवै बदलेको छ यसमा सचेत हुनु जरुरी देखिएको छ ।

पहिले रुघाखोकी, ज्वरो, स्वाद तथा गन्ध नहुनु, सास फेर्न गाह्राे हुनु, घाँटीमा खसखस हुनु, जीउ दुख्नु आदि मूख्य लक्षण थिए । तर, अब भने कोरोनाले आफ्नो लक्षण बदलेको छ, औलाको रंग बदलिनु, पखाला चल्नु, छालामा दाग तथा चिलाउनु, शरीर तथा टाउको दुख्नु, आँखा रातो हुनु यसका नयाँ लक्षणका रुपमा देखिएका छन् ।

कलकत्तास्थित अपोलो हस्पिटलको पल्मोनोलोजिस्ट डा. देवराज जैशका अनुसार समयका साथ कोरोनाले स्वरुप र लक्षण दुवै बदलेको छ । कयौं देशमा कोरोनाको नयाँ स्ट्रेन देखिएको छ । जसले खतरनाक रुप लिने पनि देखिएको छ । यस्तो अवस्थामा मानिस आफैं जागरुक हुनु जरुरी छ । मानिसमा एक पटक कोरोना भएपछि अर्को पटक कोरोनाको संक्रमण हुँदैन भन्ने भ्रम छ, जुन सत्य होइन ।

जो एक पटक कोरोनाको शिकार भएका छन् उनीहरुलाई दोस्रो पटक पनि कोरोना हुन सक्ने देखिएको छ । यस्तो केस भारत तथा नेपाल दुवै ठाउँमा देखिएका छन् । भारतमा पहिला कोरोना भइसकेका तथा कोरोनाको दुबै डोज भ्याक्सिन लिसकेका थुप्रै मानिसमा पुनः कोरोना संक्रमण भइसकेको छ ।