सवारी लाइसेन्स बनाउने सोचमा हुनुहुन्छ ? १० महिनामा आउँछ ट्रायलको पालो !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ बैशाख ।

कोरोना माहामारी र लकडाउनका कारण लामो समय बन्द भएको सवारीसाधनको लाइसेन्स परीक्षा अर्थात् ट्रायल दिन राजधानीमा कम्तीमा १० महिना कुर्नुपर्ने भएको छ ।

लकडाउन खुले लगत्तै यातायात व्यवस्था विभागले सवारीसाधनको लाइसेन्स परीक्षा लिन सुरु गरेपनि अत्याधिक चापका कारण अहिले फारम भरेका सेवाग्राहीले १० महिनापछि मात्रै पालो पाउने भएका हुन् ।
लाइसेन्स परीक्षाका लागि चैत ३१ गते फारम भरेका सेवाग्राहीलाई १० महिनापछि अर्थात् २४ माघ, २०७८ सालमा मात्रै पालो आउने गरी सम्पर्क मिति तोकिएको सूचना आएको छ । १३ अप्रिल, २०२१ मा फारम भरेका सेवाग्राहीलाई ९ महिना २४ दिनमा बल्ल पालो आउने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार हालसम्म करिब ७ लाख जना सेवाग्राहीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । तर उपत्यकाका ट्रायल सेन्टरहरूमा दैनिक ५ हजार जनाभन्दा बढी सङ्ख्यामा ट्रायल लिने क्षमता नभएको कारण १० महिनाभन्दा बढी समय कुर्नु परेको बताउँछन् ।

अहिले दैनिकरूपमा लाइसेन्स परीक्षाका लागि फारम भर्नेको सङ्ख्या बढिरहेको भएपनि लाइसेन्सको परीक्षा लिने काम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्षेत्रमा पर्छ । विभागको काम लाइसेन्स परीक्षाको लागि फारम लिइदिन र लाइसेन्स परीक्षामा उत्तीर्ण परीक्षार्थीको लाइसेन्स प्रिन्ट गरी सम्बन्धित कार्यालयमा पठाइदिने मात्रै हो । तर प्रदेशका मन्त्रालयले ट्रायल सेन्टरको सङ्ख्या र जनशक्ति बिस्तार नगर्दा समस्या आएको विभागका प्रवक्ता भुसालको भनाइ छ ।

कोरोना माहामारीका कारण गएको पुष महिनादेखि मात्रै विभागले लाइसेन्सको ट्रायल परीक्षा सुरु गरेको थियो । हाल देशभर २३ वटा कार्यालयबाट लाइसेन्सका लागि ट्रायल लिने काम भइरहेको छ । तर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि फारम भर्नेको सङ्ख्या बढेको कारण अहिले ट्रायल दिनै १० महिना कुर्नुपर्ने अवस्था आएको हो ।

घुस दिए चाँडै पालो
यातायात व्यवस्था विभागको वेभसाइटमा गएर लाइसेन्स परीक्षाका लागि फारम भर्दा १० महिना समय कुर्नुपर्ने भएपनि घुस दिएको अवस्थामा भने एक सातामै पालो आउने गरेको गुनासो पनि बढेको छ । एक सेवाग्राहीको अनुसार यातायात कार्यालयमा रहेका दलालमार्फत ३ हजारदेखि ६ हजार रुपैयाँसम्म घुस दिएमा फारम भरेको एक सातामै ट्रायल दिने व्यवस्था मिलाउने गरिएको छ ।
ती सेवाग्राहीले भने, ‘फारम भर्दा १० महिनापछि पालो आयो । तर यातायात कार्यालयमै काम गर्ने एक दलालले म सँग ३ हजार रुपैयाँ दिए एक सातामै पालोमा राखिदिने बताए ।’