काठमाडौं, ३० चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले प्रधानमन्त्री पद बाँड्दै हिँडेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनिदिन आग्रह गर्दैै हिँडेको बताएका हुन् ।
‘शेरबहादुर दाई प्रधानमन्त्री बनिदिनुस् न, महन्थ दाई प्रधानमन्त्री बनिदिनुस् न भन्दै हिँडेका छन्,’ प्रधानमन्त्रीले भने, ‘के–का लागि त भन्दा कम्युनिष्ट आन्दोलन बलियो बनाउन रे ।’ माओवादी कांग्रेस, जसपाकोमा रुन, कराउन गएको उनले बताए ।
एमालेले नै जिताइदिएका सांसदहरुलाई माओवादी केन्द्रले एक–एक गरेर निकालेकोमा पनि उनले आक्रोश पोखे । ‘हामीले नै टाँसिदिएको जुँगा थियो र एउटा, एउटा गरेर उखेल्दै छन् । अर्को चुनावमा हामी सबै जुँगा उखेलिदिन्छौ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले माधव नेपालको समेत चर्को आलोचना गरे । ‘माधव नेपालले बसपार्कमा झै टिकट बाँड्दै हिँडेका छन् । आफै चुनाव जित्दैनन्, त्यस्ता टिकट बाँडेर के काम ?’ उनले भने । पार्टीमाथि धावा बोले कसैलाई पनि नछाड्ने उनले चेतावनीसमेत दिए ।