नेपाललाई ओलीको चेतावनी- ‘पार्टी ध्वस्त पार्न खोज्नुभयो भने ठीक पार्छु’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० चैत ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने चेतावनी दिनुभएको छ । सोमबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलामा बोल्दै नेपाल आत्मालोचना गरेर पार्टीमा नफर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उहाँले चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समूहगत छलफल हुँदैन । व्यक्तिगतरूपमा आएर पार्टीमा काम गर्नुहुन्छ भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस् । तर, पार्टीमाथि धावा बोल्नुभयो भने ठीक लगाइनेछ । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । निष्कासन गर्न हामीलाई पनि आउँछ तपाईंहरूलाई मात्र होइन ।’

अहिले पनि नेता नेपाललाई पार्टीबाट निष्कासन गरिनसकेको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले भन्नुभयो,‘तपाईलाई पार्टीबाट निष्कासन गरेका छैनौँ । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपालले आफूलाई गरेको कारवाही किर्नाले भैंसी खाएजस्तै भएको पनि बताउनुभएको छ । किर्ना ढाडिए भैंसीको जिउबाट आफैं खसेको जस्तो आफूलाई कारवाही गरिएको उहाँको भनाइ थियो ।