ऋषि धमलाको ‘चन्दा आतंक’ बाहिरिएपछि सिंहदरबारमा खैलाबैला !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० चैत ।

चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि कर्मचारीसम्मचन्दा आतंक मच्चाएको खबर सार्वजनिक भएको छ । ‘प्रधानमन्त्रीको छेउमै राख्छु विशेष अतिथि बनाउँछु’ भन्दै सबैका प्रिय सञ्चारकर्मी ऋषि धमलाले वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेबाट १० लाख रुपैयाँ सहयोग हात पारेको खबर मन्त्रालयमा व्यापक छ ।

१७ चैत्र २०७७ मा ऋषि धमला अध्यक्ष रहेको रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकोत्सवको खर्च स्वरुप धमलाले अन्य मन्त्रीहरुबाट पनि रकम लिएको खुलेको छ । उद्योगमन्त्री लेखराज भट्टबाट धमलाले ५ लाख रुपैयाँ लिएको स्रोतको भनाई छ ।

सुदुरपश्चिमबाट दुई जना दिलदार नेता मन्त्री भएकोमा सबैभन्दा बढि फाइदा धमलालाई भएको सम्बन्धित मन्त्रालयका कर्मचारीहरु बताउँछन् । धमलालाई सुदुरपश्चिम र मधेसी नेताहरुले मात्रै महत्व दिँदै आएका छन् । सुदुरपश्चिमका अर्का मन्त्री गणेश ठगुन्नाले पनि २ लाख रुपैयाँ दिएको सामान्य मन्त्रालयमा चर्चा छ । वन मन्त्री आलेले धमलालाई पहिलेदेखि नै आर्थिक सहयोग गर्दै आएको स्रोतको भनाई छ ।

धमलाले जो–जससँग ५(१० लाख रुपैयाँ रकम सहयोग लिए ती सबैलाई विशेष अतिथि बनाउँछु र प्रधानमन्त्रीको छेउमा बस्ने व्यवस्था मिलाउँछु भनेर खुसी पारेका थिए । सुदुरपश्चिम बाहेकका अन्य मन्त्रीहरुकोमा धमला विरलै जान्छन् ।

सिंहदरबार छिर्दा धमलाको रोजाइको मन्त्रालयमा वन तथा वातावरण पहिलो र उद्योग वाणिज्य तथा आपूर्ति दोस्रो प्राथामिकतामा पर्ने कर्मचारीहरु बताउँछन् । रिपोर्टस क्लबको वार्षिकोत्सवमा मन्त्री, नेता व्यावसायी, ठेकेदारबाट २ करोड रुपैयाँ सहयोग लिएको स्रोत बताउँछ । वार्षिकोत्सवका लागि खर्च जुटाउन धमला तीन महिनादेखि लगातार खटेका थिए ।

पछिल्लो समय मन्त्री लेखराज भट्ट र वनमन्त्री प्रेम आलेलाई धमलाले आफ्नो प्राइम टाइम टेलिभिजनमा नियमित जस्तै स्पेस दिँदै आएका छन् । त्यो बापत यी दुई मन्त्रीले धमलाको दिल खुस हुनेगरि आर्थिक सहयोग गरिहेको चर्चा सिंहदरबारमा भइरहेको छ ।

टेलिभिजन चलाउन मुस्किल भो भन्दै व्यावसायी, ठेकेदार, मन्त्री र उच्च सरकारी कर्मचारीसँग धमलाले रकम मागेर हैरान पारेको चर्चा बजारमा व्यापक छ । उनी ‘जनता जान्न चाहान्छन’ मा अन्तर्वार्ता दिलाउन खुलमखुल्ला आर्थिक सहयोग माग्ने गरेको टेलिभिजनकै एक जना पूर्व कर्मचारीले बताए ।

उसो त मन्त्री प्रेम आले नेकपा एमालेमा सबैभन्दा धनी नेताको रुपमा चिनिन्छन् । पौने ३ करोड पर्ने निजी प्राडो जिप चढ्ने आले काठ व्यवसायबाट लखपतिबाट अर्बपति बन्न सफल नेता हुन् । साँघु साप्ताहिकमा खबर छ ।