पुनः ३ हफ्ताका लागि स्कुल कलेज बन्द हुने, यस्ता छन् नयाँ मापदण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ चैत ।

कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो ।

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरेको छ । विद्यालय बन्द भएपनि अनलाइन माध्यमबाट पठनपाठन सन्चालन मिलाइने सीसीएमसीले भनेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठाउने गरी निर्णय गर्न सीसीएमसीमा सिफारिस गरेको थियो ।

पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सीसीएमसी बैठकले सतर्कता अपनाउन सबैलाई अपिल पनि गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिवार सम्पन्न बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागु हुने बताइएको छ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ । सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।

यस्ता छन् थप प्रस्ताव :

सार्वजनिक तथा निजी निकायका प्रमुखले आफ्नो तथा अन्तर्गत कार्यालयहरूमा जनस्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्ने गराउने प्रस्ताव गरेको छ ।

विदेशबाट फर्केपछि घरमा क्वारेन्टिन बसेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले सो सम्बन्धी मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि सबै पालिकाहरूले स्थानीय तहमा निगरानी वा अनुगमन समिति बनाई नियमित अनुगमन र निगरानी गरी सो को विवरण डीसीसीएमसी मार्फत सीसीएमसीमा पठाउने।

सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका अन्य मापदण्ड समेत पालना गर्ने । सिट सङ्‌ख्याका अनुपातमा यात्रुको सङ्‌ख्या सीमित रहने गरी ‍यात्राको व्यवस्था गर्ने। सो को नियमित अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट गर्न लगाउने ।

रात्रीकालीन डान्सवार, नाइट क्लब, दोहरी साँझ जस्ता धेरै भीडभाड हुने क्रियाकलापहरू राति १० बजेपछी बन्द गर्ने र सो को अनुगमन डीसीसीएमसीले गर्ने।

सङ्क्रमणको अवस्था हेरी महानगरपालिकाहरूमा ५००, उप महानगरपालिकामा ३००, नगरपालिकामा २००, गाँउपालिकाहरूमा १०० वा सो भन्दा बढी सक्रिय सङ्क्रमित भएमा सम्बन्धित पालिकाहरूको समन्वयमा नियन्त्रित आवागमन गर्ने व्यवस्था डीसीसीएमसीले मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकाले टेस्टिङ, क्वारेन्टिन र आइसोलेसन लगायतका व्यवस्था मिलाउने ।

कोभिड–१९ को कारण विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव शदगतका लागि नेपाल ल्याउनै पर्ने भए सम्बन्धित देशले दिएको अनुमतिका आधारमा नेपाल ल्याई शदगत गर्न दिने।

जनस्वास्थ्य मापदण्डको आमरूपमा पालना भए-नभएको नियमित अनुगमन गर्नका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय, सबै सुरक्षा निकायहरू र शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरी नियमित अनुगमनको कार्य गर्ने ।

हाल सञ्चालनमा रहेका सबै आन्तरिक विमानस्थलहरूमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा अनिवार्य हेल्थ डेस्क स्थापना गरी यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाउने ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका नाकाहरूमा स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालयको समन्वयमा प्रदेश सरकार र स्थानीय तहले अनिवार्य रूपमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने ।