घट्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ चैत ।

आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी शुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

फेरि बढ्यो डलरको मूल्य

अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । (हिजो) बुधबार ११७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य बिहीबार ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो ।

डलरको यो मूल्य पछिल्लो साढे ४ महिना यताकै महँगो हो । गएको मंसिर २ गते डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेपछि क्रमशः घट्न थालेको थियो । अहिले फेरि भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर भइ डलरको मूल्य बढेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर बलियो भएपछि भारतीय तथा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकले जनाएको छ । भारतमा कोरोना सङ्कटका कारण पनि भारतीय रुपैयाँ कमजोर हुँदै गएको हो । नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा हुन्छ । तर डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाइ हुनुको साथै विदेश पढ्न जाने विद्यार्थीलाई भने समस्या पर्छ ।