काठमाडौं, २९ चैत ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि सरेको बताएका छन् ।
आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझमा आएको बताएका हुन् । ‘कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री खोस्न लागिपरेको छ,’ उनले भने, ‘त्यसो होइन, उनी नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिंदैन ।
उनले अघि भने, ‘केपी ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि हो । कम्युनिष्ट पार्टीलाई ओली र ओली प्रवृत्तिबाट बचाउनका लागि हो ।
नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको उनको टिप्पणी छ । पार्टी पदाधिकारी, केन्द्रिय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेका कारण ओली बैठक फेस गर्न नसकेर भाग्ने गरेको उनले बताए । ‘राम्रो मान्छेले राम्रो मान्छे खोज्छ, साधुले साधुलाई नै रोज्छ । खराबले खराब मान्छे खोज्छ’ उनले भने, ‘केपी ओलीसँग कस्तो कस्तो मान्छे छन्, मैले भनिरहनु पर्दैन । पार्टीको विकासमा ओली नै बाधक छन् ।
सही विचार, सही पार्टी र सही नेतृत्व बनाउन र सिद्वान्तप्रति प्रतिवद्ध कार्यकर्ता बन्न उनले सुझाए ।
कार्यक्रममा नेता घनश्याम भुसालले नेपालका कम्युनिष्टहरुले ७० वर्षसम्म गरेको त्याग तपस्या, बलिदानलाई तहसनहस पार्ने काम ओलीले गरेको आरोप लगाए । ‘कम्युनिष्ट पार्टीको कुनैदिन बहुमतको सरकार हुन्छ, त्यो सरकारले मजदूर, किसान, मध्यमवर्ग, पेशाकर्मी, उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्दै देशको विकास गर्छ भन्ने आशा र विश्वास थियो,’ उनले भने ‘जनताले बहुमत दिएपनि केपी ओलीले तानातानीलाई निरन्तरता दिए ।