एक सातामा २,५०० रुपैयाँले बढ्यो सुन, चैतकै महंगो मूल्यमा बिक्री हुँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ चैत ।

शुक्रबार सुन चैत महिनाकै महंगो मूल्यमा खरिदबिक्री भएको छ । यस दिन सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यसअघि शुक्रबारकै मूल्यको हाराहारीमा फागुन १२ गते सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस साताभरमा सुनकाे मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढोत्तरी भएको छ । गत साताको शुक्रबार तोलाको ८७ हजार ४०० मा किनबेच भएको सुन त्यसयता भने उकालो लागेको हो । सोमबार सुन साताकै न्यूनतम भाउ ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चैत महिनामा मात्र सुन तोलामा तीन हजार ३०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । चैत १ गते सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि यस महिनाभर सुनको भाउ निरन्तर उकालो लागेको छ ।

चैत १८ गते, बुधबार भने सुन यस महिनाकै कम मूल्यमा किनबेच भएको थियो । सो दिन सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो । चैत २७ गते, शुक्रबार भने ताेलाकाे ८९ हजार ९०० रुपैयाँ ताेकिएर महिनाको उच्चतम कारोबार मूल्य बन्न पुगेकाे छ ।

चाँदीको भाउ एक सातामा ४० रुपैयाँले बढ्याे

चाँदीको भाउ सातामा ४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाए बमोजिम चैत २७ गतेसम्ममा महिनाभरमा चाँदी १० रुपैयाँले वृद्धि भएको छ । चैत १ गते प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी महिनाभर जसो उतारचढाव देखिएको थियो ।

यस महिना चाँदी सबैभन्दा कम मूल्य प्रतितोला एक हजार १९५ रुपैयाँ रहेर चैत १८ गते किनबेच भएको थियो भने चैत ५ गते उच्च कारोबार मूल्य एक हजार २९० रुपैयाँ रहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै

अन्तरराष्ट्रिय बजारमा पनि यस साता सुनको भाउ निरन्तर उकालो लागेको छ । सोमबार प्रति अउन्स एक हजार ७३० डलरको हाराहारीमा खरिदबिक्री भएको सुन शुक्रबारसम्म आइपुग्दा करिब १४ डलरले वृद्धि भएको तथ्यांकमा देखिन्छ । बिहीबार सुन प्रति अउन्स एक हजार ७५७ डलरसम्म पुगेको थियो ।

सो बजारमा शुक्रबार सुन प्रति अउन्स ७ डलर भन्दा धेरैले बढेर एक हजार ७४३ डलरमा कारोबार भएको छ भने चाँदी पनि सामान्य रुपमा बढेर प्रति अउन्स २५ डलर भन्दा बढिमा खरिदबिक्री भएको छ ।

साताभरमा चाँदीको भाउ पनि लगातार वृद्धि भएको छ । सोमबार प्रति अउन्स २४ डलरको हाराहारीमा कारोबार भएको चाँदीको भाउले बिहीबार २५.५७ डलरको उचाईसम्म पुगेको थियो ।