हामीलाई अप्राकृतिकरुपमा बिछोड गराइयो, पुनर्मिलन चाहन्छौंः प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ चैत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेको एउटा समूहसँग अप्राकृतिकरुपले बिछोड गराइएको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकलाई शनिबार काठमाडौंमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रचण्डले मिलेर बसेको शक्तिलाई छुटाएर जबरजस्ती डिभोर्स गरिएकोमा आफूहरुले पुनर्मिलन चाहेको बताए । एमालेको माधव नेपाल समूहको नाम नलिई उनले उक्त कुरा बताएका हुन् ।

उनले नेपालमा ओली समूहले संसारमा कहीँ नभएको असंवैधानिक कदम चालेको आरोप लगाए । ओलीले जबर्जस्ती संसद विघटन गरेर देशलाई बेमौसमी चुनावमा धकेलेर अँध्यारो सुरुङतिर धकेलेको बताए । जनताले सडकमा उत्रिएर त्यसको प्रतिकार गरेको र त्यसलाई सच्याएको बताए ।

उनले मुलुकमा अझै सेटिङ रहेको र अराजकताको कालो बादल मच्चिइरहेको तर्क गरे । उनले आफूहरुले नयाँ सरकार बनाएर यसलाई सच्याउन लागेको र त्यो सम्भव नभएर नयाँ विद्रोहमा मुलुक जाने संकेत गरे ।

‘एउटा नयाँ खालको विद्रोहमा संगठित हुनुपर्ने जानुपर्ने अवस्था निकट भविष्यमै आउन सक्छ । हामी नयाँ सरकार बनाएर अगाडि बढ्न सकेनौं भने विद्रोहको विकल्प छैन,’ उनले भने ।

ओलीको प्रतिगामी कदमकोे प्रतिवाद सिंदरबारभित्रैबाट, देशभरीबाट हुने उनले बताए । उनले वर्तमान सरकार धेरै दिन नचल्ने पनि बताए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]