३० वर्ष आफूलाई साथ दिएको कपाल काटिँदा मन दुख्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

कोरोना महामारीले लामो समय फिल्म क्षेत्रलाई ठप्प बनायो । तर महामारी केही मत्थर भएसँगै विस्तारै चलमलाउन थालेको यो क्षेत्र फेरि कोरोनाको दोस्रो लहरको मारमा परेको छ । तर यसबीच फिल्म घोषणा गर्दै निर्माण गर्नेको संख्या बढेको छ ।

कोहलपुर एक्सप्रेस’बाट निर्माणमा होमिएकी केकी अधिकारीले यहीबीच ‘बोक्सीको घर’को छायांकन सकाएकी छिन् । उनले निर्माण गरेको पहिलो फिल्म समीक्षात्मक हिसाबले दह्रो देखिएन । रंगकर्मी सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्म अहिले पोस्टप्रडक्सनमा छ । केकीसँग उनको फिल्म निर्माण र चरित्र निर्माणका विषयमा रीना मोक्तानले गरेको कुराकानी : तपाईंले निर्माण गरेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’ माथि हुबहु चोरीको आरोप लागेको थियो । दोस्रो फिल्म ‘बोक्सीको घर’ बनाउँदै हुनुहुन्छ, मौलिकतामाथि प्रश्न उठ्ने डर छैन ?

कहिलेकाहीँ आफ्नो भोगाइबाट यस्तो पाठ सिकिन्छ कि हत्तपत्त त्यही कुरा आँट्नुभन्दा अगाडि हजारचोटि सोचिन्छ । पहिलाको दोषलाई मेटाउने अझ बढी मेहनत गर्नुपर्दो रहेछ । हो, पहिला फिल्मको मौलिकतामाथि प्रश्न उठे । त्यसलाई निमिट्यान्न पार्नका लागि यस्तो एउटा विषयमा काम गर्ने मन थियो जुन फिल्मले महिलाका विषय, लैङ्गिक विभेदका विषय उठाओस् । यीनै विषय उठान गरेको नाटक मैले पाँच वर्षअगाडि हेरेको थिएँ – ‘बोक्सीको घर’ ।

मलाई त्यतिखेर नै यो नाटकलाई फिल्मको रुपमा ल्यायो भने धेरै मानिसमा यो विषय पुग्छ भन्ने लागेको थियो । त्योभन्दा बढी लोभ, त्यो नाटकको चरित्रमा अभिनय गर्ने थियो । त्यसैले यो लकडाउनमा सुलक्षण भारतीसँग कुरा गरेर फिल्मको काम अगाडि बढाएँ । यो फिल्मको मौलिकतामाथि प्रश्न आउँछ जस्तो लागेन । यदि यो नाटक कतैबाट प्रभावित भएको भए त्यतिबेला नै प्रश्न उठ्थ्यो होला । अहिलेसम्म म ढुक्क छु । ‘बोक्सीको घर’ हाम्रै कथा हो, हाम्रै समाजको कथा हो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]