ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ : देउवा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ चैत्र ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक प्रधानमन्त्री बनाउन खोजे पनि नसकिएको बताएका छन्। त्यसबेला प्रचण्डले केपी शर्मा ओलीलाई साथ दिएकोसमेत उनले बताए। देउवाले २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई पटकपटक प्रधानमन्त्री बन्न भनेको बताएका हुन्।

काठमाडौंमा आज भएको निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले? तपाईंहरूलाई थाहा छ नि,’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठिक भएको छ।’

उनले ओलीलाई हटाउन खोजे पनि संख्या नपुगेको बताए। आफू प्रधानमन्त्री हुन नचाहेको र संख्या नपुग्ने खेलमा नलाग्ने पनि उनको भनाइ छ। जसलाई प्रधानमन्त्री बनाए पनि आफू तयार रहेको उनले बताए।

सभापती देउवाले भने :ओलीले सत्ता कब्जा गर्ने कोसिस गरिरहेका छन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको बताएका छन्।

ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ,’ शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘उनले चाहेर पनि सत्ता कब्जा हुँदैन।’

देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताए। ‘उनलाई हटाउन हामी सबै लागौं,’ देउवाले भने। उनले चुनावमा जानुपर्ने स्थिति पनि आउनसक्ने भएकाले तयार रहन आग्रह गरेका थिए।

‘चुनावमा त हामी जानैपर्छ। चुनावमा जाने बाध्यता हुन सक्छ,’ उनले भने, ‘जनता मालिक हो। जनताको घरदैलोमा पुगौं। जनताको दिल जितेपछि चुनाव जितिन्छ।’

जनताले भोट नदिएकैले गएको निर्वाचनमा कांग्रेसले हारेको उनले बताए। दुई कम्युनिष्ट पार्टी मिलेकोले जनताले पनि उनीहरूलाई नै भोट दिएको देउवा बताउँछन्। ‘अब जनताले बुझिसके, हामी एक भएर जाने हो भने एक नम्बरको पार्टी बन्छौं,’ उनले भने।