काठमाडौं, २६ चैत्र ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले ७७ मध्ये ४२ जिल्लामा आफूहरू बलियो भएको बताएका छन्।
यसैकारण अध्यक्षसमेत रहेका केपी शर्मा ओली आत्तिएको तर्क उनले अगाडि सारेका छन्।
‘केपी ओली आत्तिको कारण ४२ जिल्लामा माधव नेपाल पक्ष बलियो हुनु हो,’ एमाले बागमती प्रदेश कमिटीको बैठकमा मंगलबार नेता नेपालले भने, ‘अनि कसरी टिक्ने? हामी कसैलाई काखा र कसैलाई पाखा गर्दैनौं। समान भावका साथ अगाडि बढ्छौं।’
उनले आफूहरूले गाली गलौजमा विश्वास नगर्ने पनि बताए। जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी गठन गरिने नेपालको भनाइ थियो।
ओलीका सामु आत्मसमर्पण नगर्ने पनि उनले बताए। ‘केपी ओलीका सामु आत्मसमर्पण गर्ने? टाङमुनि छिर्ने?,’ उनले भने, ‘यसो होइन भने दृढतापूर्वक लाग्नुपर्छ।’ उनले आफूहरूको अभियान सफल हुने पनि दाबी गरेका छन्।
फागुन २३ मा सर्वोच्चले नेकपा एमाले ब्युँताइदिएपछि उक्त पार्टीभित्र गुटगट विवाद छ। अध्यक्ष ओलीले फागुन २८ मा एकलौटी हिसावले माओवादी केन्द्रका नेताहरूलाई एमाले केन्द्रीय सदस्य बनाएपछि नेपाल पक्ष असन्तुष्ट छ।