उपत्यकामा चार नयाँ सहर बनाउने सरकारको तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ चैत्र ।

सरकारले उपत्यकाका चारकिल्लामा चार नयाँ सहर बनाउने भएको छ। त्यसका लागि जग्गा अधिग्रहणको काम अघि बढाइएको छ। उपत्यकाका ईशान (पूर्वोत्तर), आग्नेय (पूर्व–दक्षिण), नैऋत्य (दक्षिण–पश्चिम) र उत्तरमा नयाँ हरित सहर विस्तार गर्न लागिएको हो। काठमाडौं, भक्तपुर, ललितपुरका तीनै सहर भरिन लागेकाले चार कुनामा सहर बसाउन लागिएको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंहले बताए।

मन्त्रालयका सचिव डा.सिहले ती सहर व्यवस्थित, स्मार्ट र सन्तुलित हुने बताए। डा. सिंहका अनुसार १ लाख ३० हजार रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ। प्रस्तावित क्षेत्रमा जग्गा कित्ताकाट र भौतिक परिवर्तन गर्न नपाइने गरी रोक लगाइएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले ती क्षेत्रमा रहेका जुनसुकै प्रकारका अचल सम्पत्ति स्वीकृतिबिना कुनै प्रकारको भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने सूचना जारी गरेको छ। प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले सानासाना सहर मात्रै निर्माण गर्दै आएकामा अब ठूला सहरको निर्माण गर्ने अवधारणा ल्याएको बताए।

प्राधिकरणका अनुसार ईशान (पूर्वोत्तर) अन्तर्गत पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्मको क्षेत्रमा कित्ताकाट रोकिएको छ। पश्चिमतर्फ जोरपाटी क्रिकेट रंगशाला, मूलपानी गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो, उत्तरतर्फ साँखु बजार र साँखु जाने मूल सडक, दक्षिणतिर भक्तपुर पुरानो बाटोमा सहर विस्तारको तयारी छ। नेपाल सैनिक प्रतिष्ठान खरिपाटी, देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण आयोजनाबाहेक क्षेत्रमा जग्गा कारोबार रोकिएको छ। पूर्वोत्तरमा करिब एक लाख रोपनीमा नयाँ सहरको भौतिक विकास योजना तर्जुमा गर्ने काम अघि बढेको सचिव डा. सिंहले बताए।

आग्नेय (पूर्व–दक्षिण)मा भक्तपुरका कटुन्जे, गुण्डु, दधिकोट, सिरुटार, बालकोटलगायत क्षेत्रमा नयाँ सहर विस्तार गरिनेछ। पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकबाट सूर्यविनायक मन्दिर अगाडि सूर्यविनायक वनलाई बाहिर पार्दै फेदको बाटो, पश्चिमतिर खहरे खोला, बालकोट बिरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमाना तोकिएको छ। यस्तै उत्तरमा अरनिको राजमार्गको सिमाना, दक्षिणमा भक्तपुरको सिलामगाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पाल्लेटार, बिरुवा हुँदै खहरेसम्म नयाँ सहर विस्तार गर्ने योजना छ। यहाँ १० हजार रोपनी जग्गा छुट्ट्याइएको छ।

नैऋत्य (दक्षिण–पश्चिम)मा ललितपुरका साविक खोकना र बुङमतीमा नयाँ सहर विस्तार गरिनेछ। जसका लागि खोकनाका १, २, ३, ४, ५, ६, ७ र ८ तथा बुङमतीको १ नम्बर वडाको भंैसेपाटी छम्पी जाने मुख्य बाटोतर्फ र २, ३, ४, ५ र ६ का सबै जग्गाको कारोबार रोकिएको छ। पूर्वतर्फ छ्यासीकोटबाट साविक सैंबु गाविसको सिमाना हुँदै फर्सिडोल, बागमती नदीको झोलुंगे पुलसम्म सहर विस्तार हुनेछ। त्यस्तै पश्चिम र दक्षिणमा बागमतीको सिमाना तथा उत्तरमा साविकको सैबु गाविससम्म नयाँ सहरको क्षेत्र हुनेछ। यहाँ १० हजार रोपनी तोकिएको छ।

उत्तरको पूर्वतर्प सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म नयाँ सहर बन्नेछ। पश्चिमतर्फ काभ्रेस्थली बाइपास जाने मूल बाटोसम्म, उत्तरमा सपनातीर्थ, मालुङ हुँदै काभ्रेस्थली तथा दक्षिणमा ग्रिनल्यान्ड चोकबाट मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मूल सडक पुलसम्म नयाँ सहर निर्माण गरिने भएको छ। यहाँ १० हजार रोपनीमा नयाँ सहर विस्तार गर्ने तयारी छ।

मन्त्रालयको यो योजनालाई छिट्टै मन्त्रिपरिषद्बाट पारित गरी विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने काम अघि बढाइएको छ।