काठमाडौं, २५ चैत ।
राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो।
उनीमाथि थप अनुसन्धान भइरहेको छ।
नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीद्वारा राजीनामा!
नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गर्नुभएको थियो ।
गण्डकी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा माओवादी केन्द्र संसदीय दलका तर्फबाट मन्त्री चुमानले पार्टी संसदीय दलको निर्णयानुसार आजै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिनुभयो । पार्टी दुई भइसकेको अवस्थामा पछिल्ला समयमा भइरहेका गतिविधिलाई सरकारभित्र रहेर विरोध गर्न नैतिक प्रश्न उठ्ने अवस्थासमेत रहेकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको जगमा सङ्घीयता, धर्म निरपेक्षता, समावेसी समानुपातिक प्रतिनिधित्व जस्ता धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै चुमानले यसको कार्यान्वयनका लागि आफूहरू निरन्तर क्रियाशील बनेको बताउनुभयो । सरकारमा रहँदा संविधानको कार्यान्वयनका लागि हरतरहले क्रियाशील बनेको उल्लेख गर्दै उहाँले आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी लिने क्रममा ४६ वटा संशोधनसहितका कानून निर्माणलगायतका महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिनुभयो ।