काठमाडौं, २४ चैत्र ।
सरकारले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष एवं व्यवसायी किशोर प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रधानलाई मंगलबार सञ्चालक नियुक्त गर्नुभएको हो। व्यवसायी प्रधान केहि दिन अघि मात्र नेकपा एमाले प्रवेश गर्नुभएको थियो ।
मन्त्री ढकालका प्रेस विज्ञ माधव तिवारीले प्रधानलाई चार वर्षका लागि निगमको सञ्चालक नियुक्त गरेको जानकारी दिनु भयो ।
माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद धराप
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो ।
पाँचै जना मन्त्रीहरुलाई यसअघि पार्टी स्पष्टिकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफ पठाएका थिएनन् ।
‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ । त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी छ । सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’, स्रोतले रातोपाटीलाई भन्यो ।
थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए ।
माओवादीको नाममा निर्वाचित उनीहरु एमाले र माओवादी केन्द्र (फागुन २३ पछि ) पूर्ववत् अवस्थामा फर्किएपछि उनीहरु भने सरकारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए । ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् ।