बादलहित माओवादी केन्द्रका ७ मन्त्रीलाई कारवाही: पार्टीबाट निष्काशित, सांसद पद खोसियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ चैत ।

गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका ७ मन्त्री कारवाहीमा परेका छन् । नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि सात मन्त्रीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापालाई पार्टीबाट निष्काशन गर्ने निर्णय छ ।

बादल, भट्ट, साह, चौधरी र रायमाझीको सांसद पदसमेत खोस्ने निर्णय भएको र उनीहरुलाई कारवाहीको पत्र तयार भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

ठाकुरको हात तानेर ओलीले पानसमा बत्ती बाल्न लगाए

रिपोर्टर्स क्लबले चैत १७ गते काठमाडौंको राष्ट्रिय सभामा गरको कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए भने विशेष अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर । ओली जसै कार्यक्रम उद्घाटनका लागि पानसमा बत्ती बाल्न अघि बढे, ठाकुर ताली बजाउन छेउमा उभिए । लगत्तै ठाकुरको हात तानेर ओलीले पानसमा बत्ती बाल्न लगाए, उनको हातमाथि आफ्नो हात राखे ।

२०६२/६३ को जनआन्दोलनयता फरक दुईधारको नेतृत्व गर्दै आएका ओली र ठाकुरको हात जसरी मिल्यो , पछिल्लो कालमा मन पनि उसै गरी मिलिरहेको छ । संघीयता र गणतन्त्रको मुद्दालाई प्रमुखतासाथ बोकेका ठाकुर र कुनै समय मधेसका मुद्दामा अत्यन्तै अनुदार भनिएका ओलीको मन मिल्नुको कारण के होला ? ठाकुर भन्छन्, ‘पुराना कुरा इतिहास भए, अहिले परिस्थिति बदलियो ।

प्रतिनिधिसभाको बैठकमा सोमबार केहीबेर सहभागी भएर उनी बबरमहलस्थित सम्पर्क कार्यालयमा पुग्दा सरकारसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य सर्वेन्द्रनाथ शुक्ला वार्ताबारे ब्रिफिङ गर्न पर्खिरहेका थिए । शुक्लाको ब्रिफिङले उनी केही आशावादी रहेछन् । गत वैशाख ८ मा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि वैशाख १० मा एकीकृत भएर जनता समाजवादी पार्टीको एउटै छाताभित्र रहेका दुई शक्ति अहिले परस्पर विरोधी धारमा उभिएका छन् । ओलीप्रति हमेसा खरो आलोचक रहँदै आएको ठाकुर समूह अहिले उनैसँग बाक्लो हिमचिम गरिरहेको छ ।

विश्लेषक सीके लाल मालिकहरूको झगडामा जसले जित्ने हो, त्यसको पछि लाग्दा नै फाइदा हुन्छ भन्ने बुझेरै ठाकुर समूह ओलीनजिक भएको हुन सक्ने बताउँछन् । ‘सत्ता भनेको एउटा सरकार हो, एउटा प्रतिपक्षी हो । कांग्रेसको भूमिका हेर्ने हो भने अहिले प्रतिपक्षी त छै न । जब दुइटै एउटै हुन् भने दुइटामा जोसँग सरकार को लगाम छ, त्यहीसँग नजिक हुन सहज भयो नि त,’ लालले भने, ‘जहाँसम्म माओवादीको कुरा छ, उसले त मधेसको मुद्दालाई ठूलो धोका दिएको छ ।’

आजको कान्तिपुर दैनिकमा समाचार छ ।