प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा : अझै केही दिन मौसम नसुध्रिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ चैत्र ।

सावधान : प्रदूषण फेरि कहालीलाग्दो अवस्थामामा पुगेको छ र यो केही समय अझे हट्ने अवस्था देखिएको छैन ।

प्रदूषण विकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधैं दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको विकल्प छैन।

वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरको सोमबार साँझको मापनअनुसार २५६ वायू प्रदूषण सूचकांक (एक्यूआई) सहित काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ।

मौसमविद्का अनुसार चैतका बेला गड्यागुडुङ, हावाहुरीसहित वर्षा हुनुपर्ने हो। तर यसपालि हिउँददेखि नै वर्षा एकदमै कम भएको छ। मौसम सुक्खा भएको छ।

जसले गर्दा मौसम गुम्सिएर बसेको छ भने वनजंगलका पातपतिङ्ग पनि थोरै आगो पर्नासाथ सल्किहाल्ने भएकाले अहिले देशभजस्तै ढडेलो बढेको छ। जसले गर्दा वायु प्रदूषण बढाएको विज्ञ बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राज प्रधानांगका अनुसार वायु प्रदूषण घट्न मौसममा फेरबदल जरुरी हुन्छ। अहिले काठमाडौं उपत्यकाको वायु मण्डल स्थिर छ अर्थात् चलायमान छैन। जसले गर्दा चारैतिर पहाडले घेरिएको काठमाडौंका धूलकण, धुवाँलगायत प्रदूषित वायु बाहिरन पाएको छैन र प्रदूषण बढेको छ।

प्रदुषण उच्च बढेसँगै सरकारले तत्कालका लागि आपतकालिन अवस्था घोषणा गर्नसक्ने संभावना छ ।

अहिलेको प्रदूषण हटाउन यी थोरै काम तत्काल गर्न सम्भव छ :

–जोररबिजोर सवारीसाधन सञ्चालन

–वर्क फ्रम होम (घरबाटै काम)

–हप्तामा २ दिन बिदा

–महिनाको एकपटक ‘भेहिकल होली डे’को व्यवस्था

–अनलाइन प्रणालीको भरपुर उपयोग

–पोलिथिन प्रयोगमा निषेध

–फोहोरलगायत अन्य वस्तु जलाउन निषेध

–आगालागी गर्नेलाई कडा कारबाही

–ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारीसाधानको सडकमै प्रदूषण जाँच। अनि प्रदूषणमा फेल भएका सवारीसाधनलाई जरिवाना

–इँट्टाभट्टालगायत प्रदूषण बढाउने कारखाना स्थानान्तरण (बस्तीबाट टाढा सार्ने)

–अभियानका रूपमा सरसफाइ र वृक्षरोपण।

यो खालको प्रदूषणले–
–मुटु र फोक्सोलाई बिरामी बनाउँछ

–मुटु र फोक्सोलाई धपेडी गराउँछ

–श्वासप्रश्वास प्रणालीका कोष नष्ट गर्छ

–दम, ब्रोङ्काइटिस तथा क्यान्सर गराउँछ

–मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ

–फोक्सोको क्यान्सर हुन्छ

–फोक्सो ड्यामेज गराउँछ

–मानसिक समस्या निम्त्याउँछ

–गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ

–आयु घटाउँछ आदि।

सकभर घरभित्र बसौं, बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजरको प्रयोग गरौं।