प्रधानमन्त्री ओलीको गृह जिल्ला जाँदै शेरबहादुर देउवा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ चैत्र ।

कांग्रेस सभापति शेरबहादुर देउवा भोलि मंगलबार झापा जाने भएकाे छन् । भोलि विहानको हवाई उडानमार्फत देउवा झापा जाने उनको सचिवालयले जनाएको हाे ।

प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली काँग्रेसका नेता स्वर्गीय सिके प्रसाईंकी धर्म पत्नी गिरीराजकुमारी प्रसाईं ‘ज्ञानु मुवा’को श्रद्धाञ्जलीसभा र काँग्रेस नेता एम आचार्यको सालिक अनावरण कार्यक्रमका लागि देउवा झापा जाने भएका हुन् ।

सभापति देउवासँगै नेताहरु कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु पनि झापाको कार्यक्रममा सहभागी हुने बुझिएको छ । सिटौला आजै झापा प्रस्थान गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका देउवा प्रदेश एकका पार्टीका शीर्षस्थ नेतासहित दुई दिन बिताउने छन् ।
चैत ११ गते ९० वर्षको उमेरमा गिरीराजकुमारी प्रसाईंको निधन भएको थियो । उनी राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहेकी थिइन् ।

२०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक क्षेत्र नं २ मा वर्तमान प्रधानमन्त्री ओलीसँग १७ मतले गिरीराजकुमारी पराजित भएकी थिइन् । त्यतिबेला ४२ मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भन्दै बदर गरिएको थियो ।

चुनावमा ओलीले धाँधली गरेर जितेको भन्दै प्रसाईंले पुनः मतगणनाका लागि मुद्दा दायर गरेकी थिइन् । तर मुद्दाको सुनुवाइ नै नभइ ढिसमिस भएको थियो ।